नियमित कफी पिउनुहुन्छ ? यस्ता छन् फाइदा र बेफाइदा


काठमाण्डु – कफी हामीले दिनहुँ सेवन गर्ने पेय पदार्थ हो । जाडो याममा त हामीले कफी अलि बढी नै पिउने गर्छौं । धेरै यस्ता मानिसहरु छन् जसलाई बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्न मन नै लाग्दैन ।

हामी कसैको घरमा पाहुना बनेर गयौं भने पनि सुरुमै सोधिन्छ, चिया पिउने कि कफी ? भनेर । आजकल साथीभाइसँग भेट भएर घन्टौं कफी पिउँदै गफिने चलन ठूला शहरमा मात्रै होइन साना शहरमा र गाँउमा पनि सुरु भएको छ । तर कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ र यसको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा–बेफाइदा गर्छ यस बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

कफीमा ‘क्याफिन’ हुन्छ । हामीले क्याफिन धेरै सेवन गर्यौं भने शरीरलाई बेफाइदा गर्छ, तर सहि तरिकाको बनाइएको कफी र पिउने मात्रा सहि रहेमा कफी स्वास्थ्यको लागि राम्रो हुने गर्छ ।

कफी पिउनुका फाइदा:

प्रत्येक दिन बिहान १ कप कफी पिउनाले शरीरमा दिनभरि स्फुर्ती आउनुका साथै यसमा हुने एन्टिअक्सिडेन्टले शारीरिक तथा मानसिक तनावलाई कम गर्नुका साथै कफीले मुड फ्रेस गर्छ ।

मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशील तुल्याउँछ ।

जाडो मौसममा नियमित कफी पिउनाले शरीरमा गर्मीपन बढाउँछ ।

नियमित कफी सेवनले बोसो तथा मोटोपन घटाउन समेत कम गर्छ ।

कफीमा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई जोगाउन मद्दत गर्छ र हृदयरोग तथा क्यान्सरबाट पनि मानिसलाई सुरक्षित राख्न सहयोग गर्छ ।

दिनमा दुईदेखि तिन कप कफी पिउनु स्वास्थ्यका लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दूध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ ।

यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयु बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।

यस आधारमा भन्न सकिन्छ, कफीले काम गर्नको लागि फुर्तिलो बनाउनुको साथै यसले स्वास्थ्यमा पनि फाइदा गर्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने छैन ।  नियमित रुपमा कफीको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई कतिपय अवस्थामा हृदयघात हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।

कफी पिउनुका बेफाइदाः

गर्मीमा धेरै कफी सेवन राम्रो मानिन्न ।

गर्भवति महिलाले कफि पिउनु राम्रो मानिँदैन । यसको कारण बच्चाको स्वास्थ्यमा असर पार्छ । गर्भपातको जोखिम समेत बढाउँछ ।

दुध कफिले ग्याष्ट्रिक बढाउन सक्छ ।

राति सुत्नुअघि कफि पिउनु राम्रो मानिन्न ।

उच्च रक्तचाप भएका मानिसले धेरै क्याफिनयुक्त कफि पिउनु हुँदैन ।

निन्द्राको समस्या भएका तथा हड्डी कमजोर भएकाले पनि कफि पिउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement