काठमाण्डु – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ ।
शिक्षामन्त्रीको उपस्थितमा समितिले बिहीबार बसेको बैठकले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन २०५४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’मा आवश्यक संशोधन गर्नुपर्ने र कानूनी मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन परिषद्लाई निर्देशन गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को संरचनामा सुधार गर्नुपर्ने बताए । उनले सीटीईभीटी कार्यसम्पादनविरुद्ध धेरै विद्यार्थीको उजुरी आएको बताउँदै यसलाई सधार्नु अनिवार्य रहेको सुनाए ।
समितिका सभापति अम्बरबहादुर थापाले मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई अवरोध गर्दा विद्यार्थीहरूले पढ्न पाउने अधिकार संकुचित भएकाले यस्तो निर्णय गरिएको बताए । ‘हामीले विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित गर्नु हुँदैन,’ उनले भने, ‘कानून बमोजिम प्रक्रिया पूरा गरेका संस्थाहरूले तुरुन्तै कक्षा सञ्चालन गर्न पाउनुपर्छ ।’
लामो समयदेखि नर्सिङ कलेज सञ्चालन गर्न कानूनी र व्यावहारिक जटिलताले सास्ती खेपेको भन्दै समितिमा शैक्षिक संस्थाहरूबाट निवेदन परेको थियो । बैठकमा नर्सिङ कलेज सञ्चालन गर्नबाट वञ्चित भएका संस्थाहरू, सीटीईभीटी, चिकित्सा शिक्षा आयोग र समितिका सांसदबीच समस्यामाथि छलफल भएको थियो ।
निवेदक शिक्षण संस्थाले कानूनी मापदण्ड पूरा गर्दा पनि नर्सिङ कक्षा सञ्चालन गर्न परिषद्बाट स्वीकृत नपाएको गुनासो पोखेका थिए । परिषद्ले भने आयोगले स्वीकृत दिन रोक लगाएको आरोप लगाएको थियो । आयोगले परिषद्मा कानून बमोजिम कार्य नभएको बताउँदै आएको छ ।
प्रतिक्रिया