आगामी वर्षमा एक लाख युवालाई रोजगारी दिने सरकारको तयारी : मन्त्री विष्ट


काठमाडौं – प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आगामी वर्ष एक लाख युवालाई सरकारले रोजगारी दिने दाबी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिए । मन्त्रालयगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत रोजगारीको अवसरलाई आधारभुत तहसम्म पहुँच र्पुयाइने बताए ।

खानेपानी, कृषि, ऊर्जा लगायत विभिन्न मन्त्रालयसँग समन्वयात्मक भूमिका मार्फत मन्त्रालयले रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको र केही दिनभित्रै ७ सय ५३ वटै स्थानीय सरकारमा रोजगारी सिर्जना गरिने व्यवस्थित कार्यतालिका सार्वजनिक गरिने उनले जानकारी दिए।

विप्रेषणलाई बैकिङ प्रणालीबाट भित्र्याउने, वैदेशिक रोजगारीमा जाने युवालाई सिप सिकाएर पठाउने तथा समग्र वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने तर्फ सरकार सचेत रहेको उनले बताए। आन्तरिक श्रम बजारको व्यवःथापन गर्दै देशभित्र निजी तथा सरकारी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई समेट्ने गरी रोजगार ऐन ल्याउन लागेको उनको भनाइ छ।

रोजगार दाता र श्रमिकबीचको असल सम्बन्ध र देश भित्रको रोजगारीमा आकर्षण बढाउनका लागि साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिने उनले बताए। ’अहिले आन्तरिक श्रम बजारमा काम गरिरहेका श्रमिकको तथ्यांक संकलन गरी उनीहरुको सुरक्षाको ग्यारेन्टी मन्त्रालयले लिन्छ। मन्त्रालय आफ्ना श्रमिकका विषयमा संवेदनशील छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement