कम्पनी साहुकाे कागजपत्र कीर्ते गरेर ७० करोड ठगी प्रयास


काठमाडौं–कीर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँभन्दा बढी रकम ठगीकाे प्रयास गर्ने १२ जनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले ४५ वर्षीय राजनप्रसाद लम्साल, ४० वर्षीय निरज कुमार मानन्धर, पुण्यप्रसाद खरेल, राजकुमार तामाङ, ३१ वर्षीय हिमाल महर्जन,  २८ वर्षीय अमृत थापा मगर, ५५ वर्षिय चिरीबाबु महर्जन लगायत १२ जनालाई नियन्त्रणमा लिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधवार राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरु विरुद्ध विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराध मुद्धामा अनुसन्धान भइ अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेको एसपी सानुराम भट्टराईले बताए। घटनाको अनुसन्धान हुँदै जाँदा कम्पनी रजिष्टार कार्यालयका ६ जना कर्मचारीको समेत मिलेमतो देखिएकाे प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जनाएकाे छ ।

कम्पनी रजिष्टारको कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायण प्रसाद पोखरेल र उमेशमान जोशी तथा कम्पनी रजिष्टारको कार्यालय शाखामा करारमा कार्यरत ‍दुई जना कर्मचारीहरूलाई समेत पक्राउ गरिएको साथै कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत अन्य २ जना हाल फरार रहेको प्रहरीले जनाएको छ ।

३३ वर्षीय जीतबहादुर मगर लगायतका अन्य व्यक्तिहरु मिलेर शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को शेयरधनी, संचालक र कम्पनीको अध्यक्ष हुँ भनी कम्पनीको नाममा जग्गा बिक्री गरेकाे अनुसन्धानमा खुलेकाे छ । काठमाडौंको बालुवाटरमा रहेको तीन रोपनी जग्गा, घर, सतुंगलमा रहेको जग्गा र अन्य ठाँउमा जग्गा बिक्री गर्ने वैना समेत दिएको खुल्न आएको व्यूरोका एसपी सानुराम भट्टराईले जानकारी दिए। आफूलाई कम्पनीको अध्यक्ष देखिने नक्कली कागजपत्र बनाएर कम्पनीको जग्गा बिक्री गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएका हौं, एसपी भट्टराईले भने, ।

यसरी भएकाे थियाे किर्ते

जटियाको एकल स्वामित्वमा रहेको शंकर इलेक्ट्रिक इन्डस्ट्रिजको सम्पुर्ण कागजपत्र उनकै घरमा काम गर्ने रामेछापका ३३ वर्षीय जीतबहादुर मगरले चोरी गरे। जीतबहादुर विगत १६ वर्षदेखि चुनदेविस्थित जटियाकै घरमा बस्दै आएका थिए।

शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को सञ्‍चालक समितिको बैठकको निर्णय भनी संचालक राम निरंजन जटियाले जितबहादुर मगरलाई कम्पनीको ७५% बराबर हुन आउने १८७५० थान शेयर बिक्री गरेको भनी किर्ते कागज तयार गरिएको अनुसन्धानबाट खुलेको छ।

यसमा उनलाई मकवानपुरका ४५ वर्षीय राजन प्रसाद लम्साल र काठमाडौँका ४० वर्षीय निरजकुमार मानन्धरले सहयोग गरे। कम्पनीको विशेष साधारण सभाको बैठकले जितबहादुर मगरले आफूलाई अध्यक्ष बनाए भने जटियालाई सञ्‍चालक तोके। त्यसपछि जटियाले सन्चालक पदबाट राजीनामा दिएको निवेदन तयार गरियो।

कम्पनीको अर्को सञ्‍चालक समितिको बैठकले कम्पनीको २५% बराबर हुन आउने ६२५० थान शेयर जटियाबाट जितबहादुर मगरलाई विक्री गरिएको कागजपत्र तयार गरियो। कम्पनीको अर्को विशेष बैठकबाट जितबहादुर मगर मात्र रहने गरि एक सदस्यीय संचालक समिति हुने निर्णय भयो।

कम्पनी रजिष्ट्रार कार्यालयको २०७५/०३/२९ र ३२ गतेको निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को शेयर लगत राम निरंजन जटियाको नामबाट जितबहादुर मगरको नाममा नामसारी गरियो।

यसपछि जीतबहादुरले बालुवाटार वस्ने राजभाई श्रेष्ठसँग शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको वालुवाटारस्थीत १४ आना १ पैसा ३ दाम जग्गा प्रति आना २१ लाख २५ हजारको दरले बिक्री गर्न बैंकमार्फत १ करोड वैना लिए।

यसैगरी शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लिको नाममा सतुङ्गलमा रहेको १५ रोपनी जग्गा प्रति आना १० लाख २५ हजारको दरले खरिदका लागि लामो समयदेखि जापानमा व्यवसाय गर्दै आएका चितवनका प्रेमसागर सापकोटासँग दुई करोड रुपैयाँ बैना पनि लिए।

प्रतिक्रिया दिनुहोस
Advertisement