काठमाडौँ – नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन् । पार्टीको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहका शुक्रबार आयोजित नेता कार्यकर्ता भेलामा उनले निर्वाचनपछिको अवस्थामा काँग्रेसले नयाँ मार्गचित्रका साथ अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।
नेता सिटौलाले पार्टीभित्र अहिले पनि सामन्ती संस्कार कायम रहेको बताउँदै “यसलाई हटाउन पार्टीमा व्यावहारिक रुपमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु जरुरी छ,” उनले भने । वर्तमान सरकारबाट सर्वसत्तावाद लागू गर्ने संकेत देखिन थालेको बताउँदै उनले त्यसलाई रोक्न सशक्त र बलियो काँग्रेसको आवश्यकता औँल्याए । आफू सही बाटोमा नहिँडी अरुलाई सही बाटोमा हिँडाउन नसकिने नेता सिटौलाको तर्क थियो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी सुधारका लागि जोखिम मोलेर भए पनि बोल्नुपर्ने र दबाब दिने बेला आएको उल्लेख गर्दै अन्यथा थप मूल्य चुकाउनुपन बताए । उनले निर्वाचनमा काँग्रेसले हार व्यहोरे पनि नयाँ संविधानमार्फत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर राजनीतिक मुद्दा जितेको जिकिर गरे ।
काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको टिकट वितरणमा पैसावाल र व्यापारी हाबी भएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा योगदान गरेका र दुःख पाएका कार्यकर्ता कहाँ जाने भनी प्रश्न गरेका छन् । नेता चौधरीले हिजोका दिनमा नाकाबन्दी लगाउन सहयोग गर्ने र नाकाबन्दीको घोर विरोध गर्नेहरु आज एक भएको प्रसंग उल्लेख गर्दै वर्तमान सरकार खिचडी गठबन्धनको सरकार भएको आरोप लगाए ।
पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा व्यक्ति नभई विधान प्रधान हुनुपर्ने बताउँदै पार्टी सुधारका लागि संगठन सुदृढीकरणको आवश्यकता रहेको बताए । उनले भने, “काँग्रेस सुध्रिएर सच्चियो भने काँग्रेसलाई कसैले हराउन सक्दैन ।”
काँग्रेस समूहका भेला बढ्दै
काँग्रेसमा रहेका विभिन्न समूहले निर्वाचनपछि आफ्ना भेला तथा छलफललाई तीव्रता दिएका छन् । बिहीबारमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता कार्यकर्ता भेला भई पार्टी कमजोर भएको भन्दै कसरी बलियो बनाउने भन्ने सम्बन्धमा छलफल गरेका थिए ।
भेलामा गाउँस्तरमा पार्टीको संरचना कसरी बलियो बनाउने, यही चैत ९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने विषयका बारेमा समेत छलफल भएको नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।
निर्वाचन परिणामको विषयलाई लिएर काँग्रेसमा आरोप प्रत्यारोप जारी छ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काँग्रेसले अनपेक्षित परिणाम व्यहोरेको थियो ।
उक्त निर्वाचनमा काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये २३ स्थानमा मात्र जित हासिल गरेको थियो । काँग्रेस केन्द्रीय कार्यसमितिमा निर्वाचनपछि परिणामका बारेमा विस्तृत रुपमा समीक्षा हुन सकेको छैन । त्यसका लागि यही चैत ९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।
पार्टीको १३औँ महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौला तीन समूह बनाएर निर्वाचनमा होमिनुभएको थियो । त्यसपछि यी तीन समूह पार्टीमा सतही रुपमा देखिएका हुन् ।
प्रतिक्रिया