काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै संविधान, विधिको शासन र जनजीविकाविरुद्धका कदम नसच्याए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकार स्वेच्छाचारी बाटोमा अघि बढेको, अर्थतन्त्रका समस्या बेवास्ता गरेको र संवेदनशील राष्ट्रिय मुद्दामा जिम्मेवारी नदेखाएको निष्कर्ष निकालेको हो।
बैठकपछि वक्तव्य जारी गर्दै कांग्रेसले सरकारका सकारात्मक काममा साथ दिने तर गलत कदमविरुद्ध चुप लागेर नबस्ने चेतावनी दिएको छ।
कांग्रेसले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजिएको आरोप लगाउँदै प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग सम्बन्धित अध्यादेश फिर्ता लिन र संसद् अधिवेशन बोलाउन माग गरेको छ।
सुनकोशी–मरिन प्रकरण र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन जोडिएको मोबाइल प्रकरणमा प्रहरी अनुसन्धानमा हस्तक्षेप भएको भन्दै निष्पक्ष छानबिनको मागसमेत गरेको छ।
महँगी, साना उद्यमीको संकट, सहकारी पीडित र अलपत्र स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकार उदासीन रहेको कांग्रेसको आरोप छ।
उसले अर्थतन्त्रको यथार्थ विवरण र समयबद्ध कार्ययोजना सार्वजनिक गर्न, सयदिने कार्ययोजना तथा विभिन्न समूहसँग भएका सम्झौता र छानबिन आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। यी विषय संसद्मा सशक्त रूपमा उठाउन संसदीय दललाई निर्देशन दिइएको महामन्त्री प्रदीप पौडेलले बताए।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणका क्रममा घोषित सहयोग प्याकेज र विभिन्न सहकार्यको कांग्रेसले स्वागत गरेको छ। तर नेपाल–भारत सीमा समस्यालाई उच्चस्तरीय वार्ताको प्राथमिकतामा नराखिएको भन्दै उसले भ्रमणको आलोचना गरेको छ।
भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँको प्याकेजमा ५६ अर्ब अनुदान र १८४ अर्ब सहुलियतपूर्ण ऋण रहेको उल्लेख छ। कांग्रेसले सहयोगको पारदर्शिता र हवाई मार्गसम्बन्धी सहमति कार्यान्वयनको स्पष्ट समयसीमा माग गरेको छ।
बाढी गएको तीन महिना बित्दासमेत भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकी क्षेत्रका पीडितका लागि सरकारको उपस्थिति न्यून रहेको कांग्रेसको भनाइ छ। कांग्रेसले जोखिममा रहेका बस्तीका लागि सुरक्षित आश्रय र घरभाडाको व्यवस्था गर्न माग गर्दै प्रभावित क्षेत्रको समन्वयका लागि मोहन आचार्यको संयोजकत्वमा रहेको समितिमा सांसद, केन्द्रीय सदस्य र विज्ञ थप्ने निर्णय गरेको छ।
काठमाण्डु उपत्यकासहितका क्षेत्रमा वैकल्पिक व्यवस्था र पूर्वतयारीबिना सुकुमवासी बस्ती हटाइएको भन्दै कांग्रेसले मानवीय संवेदनशीलता अपनाउन सरकारलाई आग्रह गरेको छ। भूमिसम्बन्धी विधेयक पारित गरी स्थायी कानुन बनाउन र वास्तविक भूमिहीनलाई वैकल्पिक स्थानान्तरण गर्न पनि माग गरिएको पौडेलले बताएका छन्।


प्रतिक्रिया