कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद


काठमाण्डु – नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । सदस्यता छानविन समितिले काठमाण्डुसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो । कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले १० जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर प्रिन्ट भइसकेको जानकारी दिए ।

पौडेलकाअनुसार समितिले विवाद समाधान गरेका जिल्लाहरूमा काठमाडौंसहित काभ्रेपलान्चोक, कपिलवस्तु, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा रहेका छन् । विवाद टुंगिएका जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गरिने पौडेलले जानकारी दिए ।

निर्वाचन समितिका एक सदस्यले सम्भवत् आज बेलुकीसम्म विवादित सबै २० जिल्लाको सदस्यता विवाद टुंगिने खबर पाएको जानकारी दिए । कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेको छ । ५ असोजमा बाँकी २० जिल्लामा अधिवेशन गर्ने तयारी छ । कांग्रेसले १८ भदौमा देशभरका ६ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न सकेको थिएन ।

कांग्रेसले यसपालि करिब ९ लाख क्रियाशील सदस्य बनाएको छ । परिवर्तित निर्वाचन कार्यतालिकाअनुसार पालिका तहमा ९ असोजमा अधिवेशन हुने छ । त्यसअघि नै सबै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement