किन कांग्रेसले सरकारमा सहभागि हुन ढिला गरिरहेको छ ?


काठमाण्डु- नेपाली कांग्रेस तत्काल सरकारमा सहभागि नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा सहभागि हुने भएको हो ।

लामो समय पछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । आज बसेको बैठकमा नेताहरुले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागि हुने धारणा राखे ।

फागनु १३ गते नै नेपाली कांग्रेसले पुस १० गते भत्किएको आफ्नो नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँताएको थियो । तर, हालसम्म पनि कांग्रेस सरकारमा सहभागि भएको छैन् ।

राष्ट्रपति चुनावका बेला ब्युँताएको गठबन्धनलार्ई सामेल गराएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ । यसैबीच कांग्रेसले भने प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने तयारी गरेको हो ।

‘प्रधानमन्त्री दाहालले चैत ८ गतेभन्दा पहिले नै विश्वासको मत लिने तयारी गरेका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने विषयमा छलफल हुन्छ,’ आज बसेको कांग्रे केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने ।

महतका अनुसार चैत ६/७ गतेतिर विश्वासको मत लिने कुरा रहेपनि प्रधानमन्त्री स्वयंको निर्णयमा मिति तय हुनेछ । हाल सत्ता गठबन्धनभित्र भागबण्डामा सहमति जुट्न सकेको छैन् । त्यसकारण पनि नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागि हुने तयारी गरेको हो ।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेले आठ मन्त्रालय लिएको थियो । त्यसैले अब कांग्रेसले पनि आफूले आठ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसले गृहसहित परराष्ट्र र अर्थमध्ये एक शक्तिशाली मन्त्रालयमा पाउनुपर्ने अडान राखेको छ । यता, नेकपा माओवादी केन्द्रका नेताहरुले गृहमन्त्रालय आफूहरुले पाउनुपर्ने दबाब प्रचण्डलाई दिइरहेका छन् । यता गृहमन्त्रालय कांग्रेसलाई नदिने रणनीति प्रचण्डको छ । त्यसकारण सत्ता गठबन्धनभित्र भागबण्डामा सहमति जुट्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement