धरान विवादमा बोल्यो कांग्रेस– कसैको धर्म, संस्कृतिप्रति कसैले दख्खल पुर्‍याउनु उचित हुँदैन


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउनु उचित नहुने बताएका छन् ।

धरानमा देखिएको विवादबारे अपिल जारी गर्दै सभापति देउवाले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरुको आस्थामा समेत चोट पुर्‍याउन नपाइने व्यवस्था गरेको बताए ।

अपिलमा भनिएको छ, ‘परापूर्वकालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं । नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन ।’

नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको अनुकूल नहुने उनले बताए । अपिलमा उल्लेख छ, ‘यस्ता घटनाबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य/अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुईमत छैन । यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement