काठमाण्डु– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । सानेपा पार्टी कार्यालयमा दुई घण्टा ढिला गरी बैठक सुरु भएको हो ।
बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्दै छन् । कार्यसम्पादन बैठकपछि आजै दलको कार्यालयमा सभापति थापाले दलका नेता छनोटबारे सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि भीष्मराज आङ्देम्बेको नाममा सहमति जुटाएका छन् । बैठकमा सभापति थापाले यसबारे जानकारी गराउनेछन्।
पूर्वसहमहामन्त्री अर्जननरसिंह केसी, मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले दाबी गरेकोमा आङ्देम्बेलाई दल नेता बनाउने सहमति जुटेको स्रोतले बतायो ।
पार्टीले जुटाएको सहमति अनुसारको नाममा दिउँसो १ बजे सांसदहरू बीचमा छलफल हुनेछ।
दलको विधान अनुसार हुने भएकाले संसदीय दल नेता कसलाई चुन्ने सांसदहरूको हातमा रहेको सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले बताए । उनले भने ‘आजको बैठकले सांसदहरू सहमत हुनुभयो भने भइहाल्यो, नत्र चुनाव हुन्छ ।’
कांग्रेसमा ३८ जना सांसद छन्।




प्रतिक्रिया