काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणको प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा समितिका संयोजक तारामान गुरुङको सभापतित्वमा बुधबार बसेको बैठकले खड्काको स्पष्टीकरणको विषयमा तामेलीमा राख्ने निर्णय गरेको हो ।
यसअघि वैशाख २ गते खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोध्ने निर्णय समितिले गरेको थियो । तर वैशाख ४ गते सर्वोच्च अदालतबाट भएको फैसलापश्चात् स्पष्टीकरण सोध्ने निर्णयको औचित्य समाप्त भएको भन्दै समितिले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।
बैठकले अनुशासन उल्लंघनको कसुरमा रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदबाट निलम्बन गरेको छ । तामाङले पार्टी नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको विषयमा सोधिएको स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएपछि समितिले निलम्बनको निर्णय गरेको छ ।
तामाङले दिएको स्पष्टीकरणमा आफ्नो त्यस्तो अभिप्राय थिएन भनी उल्लेख गरे तापनि समितिले त्यसलाई प्रारम्भिक रूपमा चित्तबुझ्दो नभएको ठहर गरेको छ । यस विषयमा थप अनुसन्धान गर्नुपर्ने र पदमा बहाल रहँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) र नियमावली २०७६ को नियम २८(३) बमोजिम आजैका मितिदेखि लागू हुने गरी उनलाई निलम्बन गरिएको समितिको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा अनुशासन उल्लंघन गर्नेहरूविरुद्ध परेको उजुरीमाथि पनि निर्णय गरेको छ । निर्वाचनमा अन्तर्घात र अनुशासन उल्लंघन भएको भनी विभिन्न जिल्लाबाट प्राप्त उजुरीहरूलाई छानबिन गरी वर्गीकरण गर्ने कार्य सम्पन्न भएको समितिले जनाएको छ ।
अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिहरूबाट ७ दिनभित्र सफाइ पेश गर्न स्पष्टीकरण सोध्ने निर्णय भएको छ । ती व्यक्तिहरूलाई ह्वाट्सएप, इमेल, भाइबर, मेसेन्जर, हुलाक र कुरियर जस्ता छिटो साधन प्रयोग गरी पत्राचार गरिने कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।





प्रतिक्रिया