काठमाण्डु – नेपाली कांग्रेसले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ ।
साउन १६ गतेदेखि ३ दिनसम्म सञ्चालन गरिएको पूर्वतयारी तथा प्रतिकार्य तालिमको समापनका अवसरमा ४० युवा सहभागीलाई समेटेर टोली गठन गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित तालिम समापन कार्यक्रममा प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले विपद्का बेला उद्धार र पुन:स्थापनामा दक्ष जनशक्ति परिचालन गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको बताए ।
उनले बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का समाचार हेर्ने र सुन्ने अवस्थाबाट अघि बढेर अब पीडितको जीवन बचाउने तथा उद्धारमा प्रत्यक्ष खटिने जनशक्ति तयार भएको उल्लेख गरे । यसलाई सुरुआतका रूपमा लिँदै देशभर यस्ता १ हजार दक्ष स्वयंसेवक उत्पादन गर्ने लक्ष्य कांग्रेसले लिएको पनि उनले जानकारी दिए ।
३ दिने तालिममा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय रेडक्रससँग आवद्ध अनुभव भएका ११ जना विपद् विशेषज्ञले प्रशिक्षण दिएका थिए । तालिममा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै उद्धार, प्रतिकार्य तथा पुनर्स्थापनासम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको कार्यक्रम संयोजक तथा प्रतिष्ठान सदस्य एवं विपद् विज्ञ मानबहादुर थापाले जानकारी दिए ।
कांग्रेसले गठन गरेको रणनीतिक विपद् परिचालन टोलीलाई आगामी दिनमा प्राकृतिक विपद्का बेला उद्धार, राहत वितरण तथा पुन:स्थापनाका कार्यमा परिचालन गर्ने योजना रहेको जनाएको छ ।





प्रतिक्रिया