काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठक छलफलका लागि ८ एजेन्डा प्रस्तुत भएका छन् ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा आईतबार बसेको बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी कार्ययोजनाका विषयमा छलफल सुरु भएको छ ।
बैठकमा सभापति थापाले समसामयिक राजनीतिक तथा प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए । महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न ८ वटा प्रस्ताव बैठकमा प्रस्तुत गरेका पार्टीले जनाएको छ ।
बैठकको प्रमुख एजेन्डामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी रहेको छ । महाधिवेशन तयारीका क्रममा नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति गठन, विधान मस्यौदा समिति गठन तथा प्रचारप्रसार, भोजन तथा आवास र मञ्च व्यवस्थापन लगायतका उपसमिति गठनसम्बन्धी विषयमा छलफल हुने भएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकको एजेन्डामा राखिएको छ ।
बैठकमा पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ । सरकारका १०० दिन, त्यसपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद्बाहिर कांग्रेसको भूमिकाबारे पनि छलफल गर्ने कार्यसूची छ ।
प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषयलाई पनि बैठकको एजेन्डामा समेटिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुन: बस्ने जनाइएको छ ।





प्रतिक्रिया