न्यायिक आयोग गठनको माग गर्दै कांग्रेसद्वारा सरकारको आलोचना

न्यायिक आयोग गठनको माग गर्दै कांग्रेसद्वारा सरकारको आलोचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग जोडदार माग गरेको छ ।

साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकपछि मंगलबार जारी विज्ञप्तिमा कांग्रेसले घटनालाई राष्ट्रमा आएको साझा संकटका रूपमा लिएर शान्ति र सद्भाव कायम गर्न भूमिका खेलेको उल्लेख गर्दै सरकारी संयन्त्रबाट बनेको छानबिन समितिले सरकारका कमजोरी लुकाउने आशंका समयले सही साबित गरेको दाबी गरेको छ ।

कांग्रेसले निष्पक्ष आयोग गठनको मागसहित १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा पनि सरकारले बेवास्ता गरेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

कांग्रेसले देवानगञ्ज–कप्तानगञ्ज लगायतका क्षेत्रमा राज्यको बल प्रयोगबाट निर्दोष नागरिकले ज्यान गुमाएको र निजी सम्पत्तिमा आगजनी तथा तोडफोडबाट ठूलो क्षति पुगेको उल्लेख गरेको छ । सरकारले पीडित पक्षसँग गरेको सम्झौतामध्ये ४ जनालाई मात्र सहिद घोषणा गरेर बाँकी प्रतिबद्धता अलपत्र पारेको आरोप पनि लगाएको छ ।

स्थानीय समुदायमा बढ्दो आक्रोश रोक्न सरकारले गरेका सबै सम्झौता अविलम्ब कार्यान्वयन गर्न कांग्रेसले माग गरेको छ ।

‘सहमति कीर्ते कागज नबनोस्’

विज्ञप्तिमा सरकारले चिकित्सक, नर्स, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज पीडितलगायत विभिन्न समूहसँग गरेका सहमति कार्यान्वयन नभएको उल्लेख गरिएको छ ।

कांग्रेसले नागरिकसँग गरिएका सहमति तत्कालको संकट टार्ने ‘कीर्ते’ कागजमा सीमित हुन नहुने भन्दै सबै सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गरी सम्बन्धित पक्षलाई राहत र न्याय दिन सरकारसँग आग्रह गरेको छ ।

सरकारप्रति बढ्दो अविश्वासप्रति चिन्ता

कांग्रेसले हरेक समस्यामा सहमति गर्ने तर कार्यान्वयनमा उदासीन रहने सरकारको प्रवृत्तिले नागरिकमा राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको टिप्पणी गरेको छ ।

‘राज्य नागरिकको अभिभावक हो भन्ने विश्वास टुट्दै गएको छ,’ विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले सरकारलाई समयमै गम्भीर र संवेदनशील बन्न आग्रह गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम भने अझै जारी रहेको कांग्रेसले जनाएको छ ।