कांग्रेसमा सभापति उम्मेदवार बन्न ४० हजार शुल्क लाग्ने, निर्वाचन निर्देशिका तयार

कांग्रेसमा सभापति उम्मेदवार बन्न ४० हजार शुल्क लाग्ने, निर्वाचन निर्देशिका तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको सभापति पदको उम्मेदवार बन्न ४० हजार शुल्क लाग्ने गरी निर्वाचन कार्यविधि तयार भएको छ ।

मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका २०८३ मा सभापतिको उम्मेदबार बन्न ४० हजार दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।

निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिको उम्मेदवार बन्नका लागि मापदण्ड तोकिएको छ । केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार शुल्क तोकिएको छ । सहमहामन्त्री पदको निर्वाचनका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार तोकिएको छ ।

निर्देशिकामा निर्वाचन अधिकृत तथा मतदान अधिकृतको नियुक्ति, उनीहरूको काम, कर्तव्य र अधिकार, मतदाता नामावली प्रकाशन तथा निर्वाचन प्रतिनिधिसम्बन्धी व्यवस्था गरिएको छ ।

निर्देशिकाअनुसार निर्वाचन अधिकृतले नेपाली कांग्रेसको मूल्य र आदर्शसँग नजिक रहेका शुभेच्छुक तथा सहयोगी संस्था र सामाजिक व्यक्तित्वहरूमध्येबाट आवश्यकताअनुसार मतदान अधिकृत नियुक्त गर्न सक्नेछन् । निर्वाचन प्रतिनिधि, निर्वाचन अधिकृत वा मतदान अधिकृत आफू खटिएको वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश वा नेपाली जनसम्पर्क समितिमा हुने निर्वाचनमा कुनै पनि पद वा प्रतिनिधिका लागि उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।

निर्देशिकामा पार्टीका विभिन्न तहमा निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई सम्बन्धित तहका पार्टी पदाधिकारी तथा सदस्यहरूले आवश्यक सहयोग गर्नुपर्ने उल्लेख छ ।

विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले नेपालबाट निर्वाचन प्रतिनिधि खटाउने व्यवस्था पनि निर्देशिकामा गरिएको छ । नेपालबाट प्रतिनिधि खटाउन सम्भव नभए सम्बन्धित राष्ट्रमा कार्यरत नेपाली नागरिक वा नजिकको देशबाट प्रतिनिधि खटाउन सकिने व्यवस्था छ ।

निर्वाचन प्रतिनिधि वा अधिकृतले सम्बन्धित देशको अधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बन्न वा सर्वसम्मत छनोट हुन नपाउने व्यवस्था निर्देशिकामा गरिएको छ ।