देशभर ७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेस अधिवेशन प्रक्रिया पूरा

देशभर ७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेस अधिवेशन प्रक्रिया पूरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिन आईतबार ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशनपछि निर्वाचन प्रक्रिया पूरा भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत दोस्रो दिन पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६–१९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । त्यसको तयारीअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन प्रक्रिया सुरु गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ४ गते ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डु, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा वडा अधिवेशनपछि निर्वाचन सम्पन्न भएको छ ।

तर मोरङ क्षेत्र नम्बर ६, सप्तरी क्षेत्र नम्बर २ र ४, सर्लाही क्षेत्र नम्बर २, रौतहट क्षेत्र नम्बर १ तथा परासी क्षेत्र नम्बर २ मा भने वडा अधिवेशन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी रहेका सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २, परासी क्षेत्र नम्बर २ तथा आईतबार सम्पन्न हुन नसकेका अन्य वडाको अधिवेशन असोज ५ गते सोमबार पनि जारी रहनेछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिमार्फत वडा अधिवेशन प्रक्रिया दोस्रो दिन पनि उत्साहप्रद रूपमा अघि बढेको जानकारी दिइएको छ ।