उमेर १८ वर्ष नपुग्दै कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका चापागाईंको जिम्मेवारी स्थगित

उमेर १८ वर्ष नपुग्दै कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका चापागाईंको जिम्मेवारी स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका इलामका सुजल चापागाईंको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित गरेको छ ।

कांग्रेसको विधानअनुसार पार्टी सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेकाले चापागाईंको जिम्मेवारी स्थगित गरिएको हो ।

नेपाली कांग्रेसको विधान, २०१७ को एघारौँ संशोधनसहितको धारा ४ को उपधारा १ (क)(१) मा पार्टी सदस्यका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित चापागाईं हाल १७ वर्ष पूरा गरी १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएको समितिले जनाएको छ । सोही आधारमा विधानबमोजिम उनको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित गरिएको छ ।

समितिका अनुसार चापागाईंको नागरिकता विवरणअनुसार आगामी २०८३ माघ १८ गते १८ वर्ष उमेर पूरा हुनेछ । त्यसपछि उनले चाहेमा मात्रै उनको पार्टी सदस्यता कायम हुने स्पष्ट गरिएको छ ।

कांग्रेसले अन्य जिल्लाका वडा तहमा भएका निर्वाचनमा पनि यस्तै प्रकृतिका उम्मेदवार निर्वाचित भएको पाइएमा उनीहरूको हकमा समेत यही प्रक्रिया कार्यान्वयन गर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बुधबार जारी गरेको विज्ञप्तिमार्फत १८ वर्ष उमेरको प्रावधानबारे जानकारी गराएका छन् ।