विराटनगर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनस्थलमा बुधबार दिउँसो झडप भएको छ ।
मनोनयन दर्ता हुनुअघि नै प्रतिनिधिको नामावलीलाई लिएर विवाद बढेपछि २ पक्षबिच झडप भएको हो ।
सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताको तयारी भइरहेका बेला विवाद चर्किएको थियो । विवादपछि कुटपिट र तोडफोडको अवस्था सिर्जना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार झडपमा केही नेता–कार्यकर्ता घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।
स्थिति नियन्त्रणमा लिन अधिवेशनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधिको नामावलीमा १ महिलाको नाम समावेश नभएको विषयबाट विवाद भएको थियो ।
माइन्युट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम नपरेको कुरा उठाएपछि विवाद बढ्दै गएको थियो । त्यसपछि केही व्यक्तिले अधिवेशनस्थलमा तोडफोड गरे ।
झडपका क्रममा कांग्रेसकी सहमहामन्त्री तथा महाधिवेशन प्रतिनिधिकी उम्मेदवार डा. डिला संग्रौला पनि अधिवेशनस्थलमै थिइन् । क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट भएको छ ।
झडपका क्रममा करिब ५ दर्जन कुर्सी तोडफोड भएका छन् । झडपपछि मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको छ । निर्वाचन प्रक्रिया नै रोकिएपछि अब मनोनयन दर्तामा अन्योल देखिएको छ ।

मोरङ–६ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो । कोइराला यस अधिवेशनमा तटस्थ भूमिकामा छन् ।
यसअघि मंगलबार मात्रै मोरङ–१ मा कांग्रेस क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राई र मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूबिच हात हालाहाल भएको थियो ।
लगातार २ दिन कांग्रेसका क्षेत्रीय अधिवेशनमा विवाद र झडपका घटना भएपछि अधिवेशनस्थलको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ ।




प्रतिक्रिया