युवाबाट कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै दन्त चिकित्साकी विद्यार्थी सिटौला

युवाबाट कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै दन्त चिकित्साकी विद्यार्थी सिटौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा रुबी सिटौलाले उम्मेदवारी घोषणा गरेकी छन् ।

झापाबाट कांग्रेसको राजनीतिमा अघि बढेकी उनले राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको बताउँदै सिटौलाले उम्मेदवारी घोषणा गरेकी हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो लक्ष्य केवल निर्वाचन जित्नु नभई त्यसपछि निर्माण हुने राजनीतिक यात्रालाई परिणाममुखी बनाउनु रहेको बताएकी छन् ।

उनले कांग्रेसमा नयाँ आर्थिक सोच, प्रविधिमैत्री संगठन, अवसरमा समान पहुँच र राजनीतिक संस्थाप्रति पुनःविश्वास निर्माण आजको आवश्यकता भएको बताइन्।

सिटौलाले आफ्नो उम्मेदवारीलाई क्षणिक राजनीतिक लहर नभई आगामी दशकको कांग्रेस कस्तो हुनुपर्छ भन्ने आफ्नो दृष्टिकोणको सार्वजनिक घोषणाका रूपमा प्रस्तुत गरेकी छन् ।
सिटौला दन्तचिकित्सा शास्त्रकी विद्यार्थी हुन्।

स्वास्थ्य क्षेत्रको अध्ययनसँगै सामाजिक तथा नीतिगत विषयमा सक्रिय उनले राजनीतिमा योग्यता, क्षमता, योगदान र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिनुपर्ने वकालत गर्दै आएकी छन् ।

सिटौलाले आफ्नो उम्मेदवारीमार्फत् महिला तथा युवाको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै कांग्रेसलाई नयाँ पुस्ताको अपेक्षा र बदलिँदो समयअनुकूल बनाउने संकल्प गरेकी छन् ।

‘नयाँ अध्यायतर्फको यो यात्रामा स्पष्ट दृष्टिकोण र जिम्मेवारीबोधका साथ अघि बढेकी छु,’ उनले भनिन् ।