काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्री पदमा उम्मेदवारी दर्ता भएको छ।
सभापतिमा तीन जना, वरिष्ठ उपसभापतिमा एक जना, उपसभापतिमा १४ जना तथा महामन्त्रीमा ११ जनाको उम्मेदवारी परेको छ।
सभापति पदमा वर्तमान सभापति गगनकुमार थापा, श्यामकृष्ण खड्की र पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्।
यसै महाधिवेशनबाट पहिलोपटक सिर्जना गरिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। निर्धारित समयभित्र अन्य उम्मेदवारी नपरेपछि शर्मा निर्विरोध हुने निश्चित भएको छ।
उपसभापति पदमा महिला समूहबाट पुष्पा भुसालको मात्रै उम्मेदवारी परेको छ। खुलातर्फ भने नौ जनाले उम्मेदवारी दिएका छन्।
खुला उपसभापतिका उम्मेदवारमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव छन्।
समावेशी समूहबाट उपसभापति पदमा पाँच जनाले उम्मेदवारी दिएका छन्। जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन्।
महामन्त्री पदमा खुलातर्फ आठ जनाको उम्मेदवारी परेको छ। खुला महामन्त्रीका उम्मेदवारमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय छन्।
महिला महामन्त्री पदमा भने डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल गरी तीन जनाले उम्मेदवारी दिएका छन्।
यसअनुसार कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका लागि तीन, वरिष्ठ उपसभापतिमा एक, उपसभापतिमा १४ र महामन्त्रीमा ११ जनाको उम्मेदवारी परेको छ।
नयाँ विधानअनुसार कांग्रेसको पदाधिकारी संरचनामा वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्रीको व्यवस्था गरिएको छ। महिला तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विभिन्न समूहमा उम्मेदवारीको व्यवस्था गरिएको छ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता भएको हो। निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ता गर्न छुटेको हुन सक्ने भन्दै मनोनयन दर्ताको समय साँझ ७ बजेसम्म थपेको थियो।




प्रतिक्रिया