कांग्रेस अब ‘बूढोहरूको पार्टी’बाट १८ वर्षका युवाले भरिएको पार्टी बन्यो : भीष्मराज आङ्देम्बे

कांग्रेस अब ‘बूढोहरूको पार्टी’बाट १८ वर्षका युवाले भरिएको पार्टी बन्यो : भीष्मराज आङ्देम्बे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन्।

उनले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशामाथि समेत गम्भीर छलफल भएकाले आफूलाई महाधिवेशन नौलो लागेको बताए।

महाधिवेशनअन्तर्गतको बन्द सत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले विगतका महाधिवेशनका बन्द सत्रमा नीति, सिद्धान्त र भावी कार्यदिशामाथि यसरी छलफल नभएको बताए।

‘मैले देखेको विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ। त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो,’ उनले भने, ‘यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु।’

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिताले नेपाली कांग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको उनको दाबी थियो।

‘उद्घाटन सत्रमा जुन राजनीतिक पार्टीहरू उपस्थित भए, त्यसले कांग्रेसले नै मुलुकको राजनीतिलाई मूल दिशानिर्देश गर्छ भन्ने प्रमाण हो,’ उनले भने।

आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढ्दै गएको दाबी गरे। विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भन्ने गरिए पनि अहिले १८ वर्षका युवा–युवतीदेखि सबै उमेर समूहका मानिस पार्टीमा जोडिएको उनले बताए।

‘पहिले कांग्रेसलाई बूढोहरूको पार्टी भन्ने गरिन्थ्यो। तर आज १८ वर्षका युवा र युवतीहरूले भरिएको पार्टी बनेको छ,’ उनले भने, ‘आज कांग्रेसभित्र यति धेरै मानिसहरू छन्। यो पार्टी सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित भएको छ।’