काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ।
खराब मौसम, प्राविधिक कारण र उम्मेदवार तथा मतदाताको संख्या धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान शुक्रबार बिहानबाट मात्रै सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
उनका अनुसार मतदान बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। कांग्रेस महाधिवेशनमा ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेको निर्वाचन समितिले जनाएको छ। तीमध्ये ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्नेछन्।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको बताए। साँझ मतदान सुरु गर्दा रातिसम्म मतदातालाई कठिनाइ हुने भएकाले बिहानदेखि मतदान गर्ने निर्णय गरिएको उनको भनाइ छ।
मतपत्रको संख्या धेरै भएकाले खड्कासहित ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरिरहेको निर्वाचन समितिले जनाएको छ। समितिको यो निर्णयपछि मतदानका लागि लाइनमा रहेका महाधिवेशन प्रतिनिधि होटलतिर फर्किएका छन्।
यी ठाउँमा हुनेछ मतदान
महाधिवेशन प्रतिनिधिको सहजताका लागि निर्वाचन समितिले विभिन्न मतदान केन्द्र तोकेको छ।
- राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ : बागमती प्रदेश
- खुलामञ्च, मतदान केन्द्र ‘ख’ : कोशी प्रदेश तथा तराई–मधेस समूह
- हिमाल हल : गण्डकी प्रदेश
- तराई–मधेस हल : मधेश प्रदेश
- पहाड हल : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइनेछ।
निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ।
उम्मेदवारी प्रक्रिया पूरा
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।
शुक्रबारको मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
मतदानपछि मतगणना
मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाइ तथा खाना खर्च पार्टीले नै व्यहोर्ने आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिए।
कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। शुक्रबारको मतदानपछि आउने परिणामले कांग्रेसको नयाँ नेतृत्वसँगै आगामी राजनीतिक दिशा र संगठनात्मक प्राथमिकता तय गर्नेछ।



प्रतिक्रिया