कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खसेको छ।

शुक्रबार बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो।

मिडिया सेन्टरका अनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ। मतदान प्रक्रिया अहिले चलिरहेको छ।

यसैबीच, सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदानका लागि लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूसँग भेटेर मत मागेका छन्। उनी मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन्।

थापाले मतदातालाई कुनै समूहको दबाब वा प्रभावमा नपरी स्वेच्छाले मतदान गर्न आग्रह गरेका छन्। उनले बिहान सामाजिक सञ्जालमार्फत पनि कुनै समूह नबनेको उल्लेख गर्दै प्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा मतदान गर्न आह्वान गरेका थिए।

कांग्रेसको नेतृत्व चयनका लागि सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य पदमा निर्वाचन भइरहेको छ। सभापति पदमा थापासँगै काठमाडौं-६ का श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्।

लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थापा यसअघि पार्टीको महामन्त्री भइसकेका छन्। पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनले सर्वाधिक मत प्राप्त गरेका थिए। खड्गी भने पहिलो पटक केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्।

पार्टीको नियमित महाधिवेशन समयमै हुन नसकेपछि विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको थियो। थापाकै नेतृत्वमा कांग्रेसले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको थियो।