काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा सभापति गगनकुमार थापाले कुनै प्यानल वा गुट नरहेको दाबी गरे । उनले अबदेखि कांग्रेस एकै रहेको बताउँदै कुनै पनि गुटगत गतिविधिलाई अस्वीकार गरिने उल्लेख गरे ।
तर शुक्रबार महाधिवेशनअन्तर्गत मतदान चलिरहेका बेला थापाकै नाम र तस्बिरसहित ७५ जना उम्मेदवारको सूची महाधिवेशन प्रतिनिधिहरूलाई बाँडिएको छ।
‘आन्तरिक प्रयोजनका लागि मात्र (अति गोप्य)’ भनेर उल्लेख गरिएको उक्त सूचीमा वरिष्ठ उपसभापतिमा सर्वसम्मत भइसकेका नेता ‘विश्वप्रकाश शर्मा नेतृत्वको समूह’ भनेर उल्लेख गरिएको छ। मतदान सुरू भएकै समयमा प्रतिनिधिहरूमाझ वितरित सूचीमा सभापतिमा थापा र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको नाम उल्लेख गरिएको छ।
तर, थापाले शुक्रबार बिहानै आफ्नो नाम जोडेर प्रचार गरिएको सूची आधिकारिक नभएको भन्दै खण्डन गरेका छन्। उनले कुनै पनि प्यानल वा गुट नरहेको बताउँदै सूचीमा रहेका उम्मेदवारलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न मतदातालाई आग्रह गरेका छन्।
छैनन् प्रदीप र गुरुराज
महाधिवेशनका विभिन्न मतदानस्थलमा वितरित सूचीमा उपसभापतिका लागि गोविन्द भट्टराई, मधु आचार्य र विनोद चौधरीको नाम छ। महामन्त्रीमा उदयशमशेर राणा, अमरसिंह पुन र महालक्ष्मी उपाध्याय ‘डिना’को नाम छ।
तर, पुस अन्तिम साता काठमाडौंमा भएको दोस्रोविशेष महाधिवेशनदेखि थापा र विश्वप्रकाश शर्मासँग जोडिएर महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरेको नाम छैन।
सह-महामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारसमेत समेटेर ७५ जनाको नाम राखिएको सूचीमा विश्वप्रकाशको नाम र तस्बिर राखिएको छ। सूची कसले तयार पारेको हो, खुलेको छैन। उक्त सूचीलाई कसले वितरण गरेको हो खुलेको छैन।
गगनको प्रतिवाद : मेरो समर्थन छैन
आफ्नो नाम जोडेर उम्मेदवारहरूको सूची प्रचार गरिएको विषयमा प्रतिक्रिया दिँदै थापाले महाधिवेशन प्रतिनिधिहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।
‘विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ। यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु। यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले लेखेका छन्।
उनले आफ्नो नाम जोडेर प्रचार गरिएका कुनै पनि सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्। साथै, अफवाह र भ्रममा नपरी पार्टीको हितलाई ध्यानमा राख्दै स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न प्रतिनिधिहरूलाई अपिल गरेका छन्।
गुट नभएको दाबी, सूचीले उठायो प्रश्न
कांग्रेसमा एकातिर सभापतिका उम्मेदवार थापाले कुनै प्यानल वा गुट नरहेको बताइरहेका छन् भने अर्कोतिर उनको नाम र तस्बिरसहित वरिष्ठ उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवार समेटिएको सूची बाँडिएको छ।
सूचीमा ‘विश्वप्रकाश शर्मा नेतृत्वको समूह’ उल्लेख गरिनु र थापाले त्यसलाई अस्वीकार गर्नुले महाधिवेशनको मतदानअघि उम्मेदवारहरूको नाममा भइरहेको प्रचारबारे प्रश्न उठाएको छ। विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका थापाले प्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा मतदान गर्न आग्रह गरिरहेका छन् । तर अर्कातिर यस्तो सूची बाँडिएको छ।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि राष्ट्रिय सभा गृह र खुलामञ्चमा मतदान भइरहेको । निर्वाचन समितिका अनुसार मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। महाधिवेशनबाट २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ।






प्रतिक्रिया