काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको जारी मतगणना रोकिएको छ।
महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल र उदयशमशेर राणा पक्षका प्रतिनिधिहरूले मतगणनास्थलमा नाराबाजी गर्दै अवरोध गरेपछि गणना रोकिएको हो।
मतगणनास्थलमा रहेका एक कांग्रेस कार्यकर्ताका अनुसार मतगणनाका क्रममा प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो।
विवादका क्रममा निर्वाचन अधिकृतमाथि दुर्व्यवहार र धम्की दिइएको तथा घम्साघम्सीसमेत भएको दाबी गरिएको छ। घटनापछि उपसभापति र महामन्त्री दुवै पदको मतगणना रोकिएको हो।
मतगणना पुनः कहिलेदेखि सुरु हुन्छ भन्नेबारे जानकारी प्राप्त भएको छैन।
महामन्त्रीमा पौडेलको अग्रता
मतगणना रोकिँदासम्म खुला महामन्त्रीका दुई पदका लागि प्रदीप पौडेलले ५९५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। अमरसिंह पुन मगरले ३९९ मत प्राप्त गर्दा उदयशमशेर राणा ३२३ मतसहित तेस्रो स्थानमा छन्।
अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २५९, गुरुराज घिमिरेले १४९, नैनसिंह महरले १११, शंकर तिवारीले १७ र डा. सन्तोष उपाध्यायले १६ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) ले ४८१ मतसहित अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ४३६ र रीता खनालले १२६ मत प्राप्त गरेकी छन्।
खुला उपसभापतिमा चन्द्रकान्त अगाडि
१ हजार २५ मत गणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले ५४३ मत प्राप्त गर्दै अग्रता लिएका छन्। ई. मधु आचार्यले २९५ र गोविन्द भट्टराईले २४५ मत प्राप्त गरेका छन्।
त्यस्तै, सुरेन्द्रराज पाण्डेले २४४, दीपक गिरीले २१२, धनराज गुरुङले १७६ र प्रा. डा. चन्द्रमोहन यादवले ११८ मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिमा बिनोदकुमार चौधरी ३०१ मतसहित अगाडि छन्। जीवन परियारले २४६, फरमुल्लाह मंसुरले १४३, सीता गुरुङले १३१ र रंजीत कर्णले ८७ मत प्राप्त गरेका छन्।
मतगणनास्थलमा उत्पन्न विवादले कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रियामा अवरोध सिर्जना गरेको छ।



प्रतिक्रिया