काठमाण्डु- नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सचिन तिमल्सेनाले पार्टीलाई २१औँ शताब्दीको आवश्यकता र जनअपेक्षाअनुसार आधुनिक बनाउँदै देशलाई समुन्नतिको दिशामा अघि बढाउन योगदान गर्ने बताएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तिमल्सेनाले डेढ दशकको सक्रिय राजनीतिक यात्रापछि पार्टीको केन्द्रीय कार्यसमितिमा पुग्न सफल भएको बताएका हुन्।
उनले आफ्नो विजयलाई पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको माया, विश्वास र भरोसाको उपलब्धिका रूपमा व्याख्या गरेका छन्।
तिमल्सेनाले यस अवसरमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालासहित पार्टीका संस्थापक नेताहरूलाई स्मरण गरेका छन्।
स्वतन्त्रता र सम्मानको आन्दोलनलाई अघि बढाउने माध्यमका रूपमा संस्थापक नेताहरूले नेपाली कांग्रेसको परिकल्पना गरेको उल्लेख गर्दै उनले त्यही विचार र आदर्शबाट प्रेरित भएर आफूजस्ता हजारौँ नागरिक पार्टीमा जोडिएको बताएका छन्।
उनले आफ्ना पहिलो राजनीतिक गुरु बुवालाई पनि विशेष रूपमा सम्झिएका छन्। बुवाको स्वास्थ्य अवस्था राम्रो नरहेको उल्लेख गर्दै तिमल्सेनाले साझा सपना पूरा भएको यो क्षणमा उहाँ स्वस्थ हुनुभएको भए खुसी र उत्साह अझ विशेष हुने धारणा व्यक्त गरेका छन्।
उनले आफूलाई राजनीति सिकाउने तथा अवसर र जिम्मेवारी प्रदान गर्ने पार्टी सभापति गगनकुमार थापालाई विशेष रुपमा सम्झिएका छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा लगायत पार्टीका अग्रज नेताहरूप्रति पनि उनले आभार व्यक्त गरेका छन्।
अब पार्टीलाई समयानुकूल, आधुनिक, गतिशील र जनमुखी बनाउँदै देशको समुन्नतिका लागि काम गर्ने आफ्नो प्राथमिकता रहेको तिमल्सेनाको भनाइ छ।
उनले आफूलाई विश्वास गरेर केन्द्रीय सदस्यमा निर्वाचित गराउने सबैप्रति आभार व्यक्त गर्दै त्यो विश्वासलाई जिम्मेवारीपूर्वक पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।



प्रतिक्रिया