कांग्रेसको आरोप – सभामुखले सरकारलाई जवाफदेही बनाउन चाहेनन्


काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सभामुख कृष्णबहादुर महराले सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन नचाहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय दिलेन्द्रप्रसाद बडु र डा. डिला संग्रौलाले आईतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रश्न गर्न नदिएबाट सभामुख महरा सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन गम्भीर नरहेको पुष्टि भएको दावी समेत गरे।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद बडुले सरकारलाई संसदप्रति जवाफदेही बनाउन प्रधानमन्त्रीको वक्तव्यमाथि सांसदहरुले निर्बाध प्रश्न गर्न पाउने अधिकारलाई सभामुखले हनन् गरेको आरोप समेत लगाए।
उनले संसदमा सरकारलाई जवाफदेही बनाउन र संसदीय मूल्य मान्यता अनुसार पनि सभामुखले प्रधानमन्त्री र मन्त्रीहरुसँग निर्वाध प्रश्न गर्न दिनुपर्ने पार्टीको अडान पनि दोहो¥याए।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यमाथि सभामुखले तत्काल प्रश्न गर्न दिएका थिएनन्। त्यसप्रति कांग्रेस सांसदहरुको आपत्ति छ। आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको वक्तव्यपछि प्रश्न गर्न नदिएपछि प्रतिनिधिसभा बैठक बुधबार (भोलि) सम्मका लागि स्थगित गरिएको छ। कांग्रेसले भने प्रधानमन्त्रीसँग प्रश्न गर्न नदिएर सभामुख महराले संसदीय मूल्य, मान्यताको समेत अपहेलना गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement