कांग्रेस संकटमा छैन, आफैंलाई कमजोर नबनाऔंः देउवा


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संकटमा नपरेको दावी गरेका छन् । स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले पार्टीभित्र कुनै विवाद नरहेको र कांग्रेस सङ्कटमा नपरेको दावी गरेका हुन् ।

‘यहाँ पार्टीभित्र कुनै विवाद छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन आज पनि छैन, भोलि पनि रहँदैन । कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौं,’ उनले भने, ‘पार्टीमा धेरै पटक हामी हारेका छौं । धेरै पटक जितेका पनि छौं । त्यसैकारण हामीले आफैंले आफैंलाई कमजोर पार्ने काम छैन । कांग्रेस संकटमा पनि छैन ।’

साथै उनले पार्टीका स्वर्गिय नेता जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताए । ‘छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो, केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,’ उनले भने ।

आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको भन्दै उनले लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताए ।

‘लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्कीनेछ’, उनले भने । वरिष्ठ नेता पौडेलले स्व जोशीले विसं २०४६ को जनआन्दोलन पहिले विद्यार्थीका रुपमा र त्यसपछि कांग्रेसमा बसेर लोकतन्त्र स्थापनामा खेलेको भूमिका स्मरणयोग्य रहेको बताए ।

पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उनको भनाइ थियो । बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement