लगातारको असफलता र हारपछि म्यानचेस्टर युनाइटेड व्यवस्थापनमाथि खनिए मार्टिनेज

लगातारको असफलता र हारपछि म्यानचेस्टर युनाइटेड व्यवस्थापनमाथि खनिए मार्टिनेज

अहिलेको कमजोरीको दोष प्रशिक्षकलाई मात्रै दिन नमिल्ने तर्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले क्लबको लगातारको असफलताको जिम्मेवारी प्रशिक्षक माइकल क्यारिकलाई मात्र दिन नमिल्ने बताएका छन्।

उनले क्लबका मालिक र उच्च व्यवस्थापनले खेलाडी भित्र्याउन पर्याप्त लगानी नगरेको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका छन्।

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत एट्लेटिको मड्रिडसँग २–० ले पराजित भएपछि मार्टिनेजले क्लबको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनको अभिव्यक्तिले म्यानचेस्टर युनाइटेडभित्रको व्यवस्थापकीय कमजोरी र लगानीसम्बन्धी विवादलाई फेरि सतहमा ल्याएको समाचार ईएसपीएनका पत्रकार मार्क ओग्डेनले लेखेका छन्।

‘गत सिजन हामीले उत्कृष्ट प्रदर्शन गरेका थियौँ। त्यसैले अहिले हामीले माथिल्लो तहबाट अझ बढी अपेक्षा गरेका छौँ। प्रतिस्पर्धा गर्न थप खेलाडी आवश्यक छन्, किनकि अन्य टोलीहरूले पनि धेरै खेलाडी भित्र्याइरहेका छन्,’ मार्टिनेजले भने।

एट्लेटिको मड्रिडसँगको हारपछि प्रशिक्षक र खेलाडीलाई मात्रै दोष दिनु गलत हुने उनको भनाइ थियो। उनले क्लबका फुटबल निर्देशक जेसन विल्कक्ससहित उच्च व्यवस्थापनले पनि आफ्नो जिम्मेवारी लिनुपर्ने बताए।

‘आज प्रशिक्षकलाई दोष दिन सजिलो छ, खेलाडीलाई दोष दिन पनि सजिलो छ। तर हामीले अन्य क्षेत्रलाई पनि हेर्नुपर्छ। प्रशिक्षक मात्रै परिवर्तन गरिरहन सकिँदैन। अन्य क्षेत्रको जिम्मेवारी के हुन्छ ?’ मार्टिनेजले प्रश्न गरे।

मालिक र व्यवस्थापनमाथि प्रश्न

म्यानचेस्टर युनाइटेडका बहुमत मालिक ग्लेजर परिवार र अल्पमतका मालिक सर जिम र्‍याटक्लिफमाथि समर्थकहरूले लामो समयदेखि क्लबमा पर्याप्त लगानी नगरेको आरोप लगाउँदै आएका छन्। पछिल्लो समय टोलीको कमजोर प्रदर्शनसँगै व्यवस्थापनको निर्णय प्रक्रियामाथि पनि आलोचना बढेको छ।

ईएसपीएनकाअनुसार युनाइटेडले यस समर ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुबन्ध गर्न करिब १५ करोड पाउन्ड खर्च गरेको थियो। तर टोलीलाई आवश्यक लेफ्ट ब्याक र मुख्य स्ट्राइकर बेन्जामिन सेस्कोको विकल्पका रूपमा अर्को खेलाडी भित्र्याउन सकेन।

म्यानचेस्टर सिटीले करिब ४५ करोड पाउन्ड, चेल्सी र टोटेनहमले ३० करोड पाउन्डभन्दा बढी तथा लिभरपुलले करिब २२ करोड ७० लाख पाउन्ड खर्च गरेको विवरणमा उल्लेख छ। युनाइटेडले च्याम्पियन्स लिगमा फर्कंदा पनि टोलीको गहिराइ र गुणस्तर बढाउन पर्याप्त कदम नचालेको विश्लेषण गरिएको छ।

मार्टिनेजले प्रतिस्पर्धी टोलीहरूले आफ्ना कमजोरी सुधार गरिरहँदा युनाइटेड पुरानै संरचनामा सीमित हुन नहुने बताए।

‘तपाईं गत सिजन जे गर्नुभयो, त्यसमै सीमित रहन सक्नुहुन्न। अन्य टोलीले तपाईं कसरी खेल्नुहुन्छ भन्ने थाहा पाइसकेका हुन्छन्। तपाईंले आगामी सिजनका लागि परिवर्तन गर्नुभएन भने त्यो ठूलो समस्या हुन्छ,’ उनले भने।

क्यारिकमाथि दबाब, तर दोषी को ?

एट्लेटिकोसँगको हार युनाइटेडका लागि पछिल्लो पाँच खेलमा तेस्रो पराजय थियो। ईएसपीएनका अनुसार, टोलीले पछिल्ला सात खेलमा एक जित मात्रै निकालेको छ। यसले प्रशिक्षक क्यारिकमाथि दबाब थपेको छ।

तर मार्टिनेजको अभिव्यक्तिले क्लबको समस्यालाई प्रशिक्षकको कार्यशैलीमा मात्रै सीमित गर्न नहुने बहसलाई बल दिएको छ। प्रशिक्षक परिवर्तन भइरहे पनि खेलाडी छनोट, टोलीको सन्तुलन र दीर्घकालीन योजनामा सुधार हुन नसकेको विषय अहिले मुख्य प्रश्न बनेको छ।

क्यारिकले भने मार्टिनेजको टिप्पणीलाई हारपछिको भावनात्मक प्रतिक्रिया भएको संकेत गर्दै परिस्थितिलाई शान्त पार्ने प्रयास गरेका छन्।

क्लबका फुटबल निर्देशक विल्कक्स र प्रमुख कार्यकारी अधिकृत उमर बेराडाले टोलीलाई बलियो बनाउन थप पहल गर्न सक्ने भए पनि उनीहरूको खर्च गर्ने क्षमता अन्ततः र्‍याटक्लिफ र ग्लेजर परिवारले उपलब्ध गराउने बजेटमा निर्भर रहने विश्लेषण छ।

यसैले मार्टिनेजले व्यवस्थापनमाथि उठाएको प्रश्न केवल ट्रान्सफर बजेटमा सीमित छैन। क्लबको नेतृत्व, खेलकुदसम्बन्धी निर्णय र दीर्घकालीन योजनामा देखिएको कमजोरी पनि विवादको केन्द्रमा छ।

व्यावसायिक रूपमा विश्वकै ठूला फुटबल क्लबमध्ये एक मानिने म्यानचेस्टर युनाइटेडले मैदानबाहिरको आर्थिक शक्ति र मैदानभित्रको प्रदर्शनबीचको अन्तर घटाउन नसकेको आलोचना हुँदै आएको छ।

समर्थकसँगै अब टोलीका वरिष्ठ खेलाडीले समेत नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाउन थालेपछि क्लबको व्यवस्थापनमाथि दबाब थपिने देखिएको छ।

मार्टिनेजले म्यानचेस्टर युनाइटेडको समस्या समाधान गर्न प्रशिक्षक परिवर्तन मात्रै पर्याप्त नभएको, क्लबको नेतृत्वले पनि जिम्मेवारी लिनुपर्ने सन्देश दिएका छन्।