काठमाण्डू– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद अर्जुननरसिंह केसीले आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।यतिका समयसम्म औपचारिक रुपमा सरकारका तर्फबाट प्रतिवेदन सार्वजनिक नगरिएकामा उनको आपत्ति थिए ।
तर, प्रतिवेदन यसअघि नै सार्वजनिक सञ्चार माध्यमबाट छरपष्ट भइसकेको छ । केसीले सांसदहरुलाई अध्ययनधका लागि प्रतिवेदन उपलब्ध गराउनसमेत माग गरे ।
‘भदौ २३ र २४ को नरसंहार र विध्वंशको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइ सकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन’ ,केसीले भने, ‘तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरूलाई उपलब्ध गराइयोस् भन्ने माग गर्दछु ।’
तत्कालीन सुशीला कार्की नेतृत्वको चुनावी सरकारले जेनजी आन्दोलनमा भएको नरसंहार, आगजनी र लुटपाटबारे जाँचबुझ गन गत ५ असोजमा पूर्वन्यायाधीश कार्की नेतृत्वमा नेपाल प्रहरीका अवकाशप्राप्त एआईजी विज्ञानराज शर्मा र कानूनका जानकार विश्वेश्वर भण्डारी रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो ।
आयोगले निर्वाचन सम्पन्न भएको तीन दिनपछि २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा २३ भदौमा भएको नरसंहारमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलगायतलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।
आयोगको सिफारिस कार्यान्वयनको सिलसिलामा प्रहरीले ओली र लेखकलाई १४ चैतमा पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरणमार्फत अदालतको आदेशमा ओली र लेखक दुवै जमानतमा रिहा भइसकेका छन् ।




प्रतिक्रिया