प्रकाशशरणको चेतावनी : ‘लोकप्रियतावादको पछि लाग्दा कांग्रेसको अस्तित्वमै प्रश्न उठ्छ’

प्रकाशशरणको चेतावनी : ‘लोकप्रियतावादको पछि लाग्दा कांग्रेसको अस्तित्वमै प्रश्न उठ्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले सभापति गगनकुमार थापा नेतृत्वसँग चर्को असन्तुष्टि पोखेका छन् । उनले कांग्रेस संसद् र संसद्बाहिर दुवैतिर प्रतिपक्षी भूमिका निर्वाह गर्न असफल भएको पनि बताएका छन्।

शनिबार काठमाडौंको महाराजगञ्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले प्रतिपक्षीले बलियो भूमिका निर्वाह गर्न नसक्दा संसदीय व्यवस्था र लोकतन्त्र नै कमजोर हुने अवस्था आएको जिकिर गरे।

‘कांग्रेसले विपक्षीको भूमिका निर्वाह नगर्ने हो भने संसदीय व्यवस्थामा प्रजातन्त्र कमजोर बन्छ,’ उनले भने, ‘सत्तारुढ दलले आफूखुसी गर्न थाल्छ । अहिले त्यही भइरहेको छ । हचुवामा निर्ण हुँदै छ । विपक्षीले बलियो भूमिका देखाएन।’

उनले अहिले वालेन्द्र शाह नेतृत्वको सरकारले हचुवाका भरमा काम गरिरहेको पनि बताए । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई घरबाटै मध्यरातमा हचुवाका भरमा पक्राउ गरिएको घटनामा उनले आपत्ति जनाए।

‘हचुवाका भरमा पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरियो,’ महतले भने, ‘जनताको विरोधछि सुरक्षाका लागि ल्यायौँ भन्ने जवाफ दिइँदैछ।’ अहिलेको सरकारले लोकतन्त्रको मर्म, भावना र संविधानको व्यवस्थाविपरीत काम गरिरहेको उनले बताए । तर कांग्रेससहितका प्रतिपक्षी खबरदारीमा चुकेको उनले बताए ।

महतले वर्तमान पार्टी नेतृत्वको व्यक्तिगत महत्वाकांक्षाले कांग्रेसका मूल्य, मान्यता कमजोर बनाउँदै लगिएको पनि बताएका छन्। महतले कांग्रेसलाई वर्तमान सत्तारूढ रास्वपाजस्तै बनाउने कोसिस भइरहेको पनि बताए ।

कांग्रेसको ‘डेमोक्रेटिक सोसियोलिजम’को विकल्पमा‘सोसल डेमोक्रेसी’को अवधारणा ल्याउनु भनेको रास्वपा नीतिलाई अंगाल्नुसरह भएको उनले बताए । यदि कांग्रेसले आफ्नो पुरानो विचार र पहिचान बचाउन नसके पार्टीको अस्तित्व नै संकटमा पर्ने उनले बताए । महतले लोकप्रियतावादका नाममा राजनीतिक लाभ खोज्दा कांग्रेसलाई वैचारिक विचलनतर्फ लगेको पनि बताएका छन्।