कञ्चनपुरका नेता साउदले महामन्त्रीमा उम्मेदवारी दिने, अन्य को–को छन् देउवा पक्षबाट महामन्त्रीमा दाबेदार ?


काठमाण्डु – नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको आशन्न १४ औं महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेका छन् । कञ्चनपुर क्षेत्र २ का पूर्वसांसद समेत रहेका कांग्रेस केन्द्रीय सदस्य साउदले महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

कांग्रेसका प्रभावशाली नेता मानिने मध्येका एक साउदको सचिवालयले आइतबार महामन्त्रीका उम्मेदवार लेखिएको पोस्टर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिसकेको छ । यद्यपि उनले यसबारेमा आधिकारिक घोषणा भने गरिसकेका छैनन् ।

उनको सचिवालयले चुनावका लागि काठमाण्डुको अनामनगरमा सम्पर्क कार्यालयसमेत खोलिसकेको छ । साउद पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् ।

२०४८ मै नेविसंघ सभापति रहेका साउद पनि सुदूरपश्चिम प्रदेश संगठनमा बलियो छन् । त्यसैका लागि उनी लामो समयदेखि सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेर संगठन सुदृढ गरिरहेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट कांग्रेसको राजनीतिमा उदाएका साउद नेविसंघको सातौं केन्द्रीय अध्यक्ष समेत हुन् ।

उनी जिल्लामा मात्रै नभएर देशभर नेटवर्क भएका प्रभावशाली नेताको रुपमा परिचित छन् । महामन्त्री उठ्ने तयारी गरिरहेको र टिमसँग छलफल गरेपछि औपचारिक रूपमै घोषणा गर्ने पक्षमा साउद छन् । त्यसै कारण सुदूरपश्चिम प्रदेशको अधिवेशनका लागि कैलालीको धनगढी पुगेका साउद प्रदेशको चुनाव सम्पन्न भइसकेपछि शनिवार बेलुकी नै काठमाण्डु फर्किसकेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति देउवालाई भने १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार छान्न सकस पर्ने देखिएको छ । महामन्त्री पदमा आकांक्षी धेरै छन् ।

सभापति देउवा र संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट यसपालि महामन्त्रीमा धेरै दाबेदार छन् । महामन्त्रीमा धेरै नेताहरू आकांक्षी भएकाले उनीहरूलाई चित्त बुझ्दो तरिकाले व्यवस्थापन गरी आफ्नो टिमलाई चुस्त राख्न नसके देउवालाई महाधिवेशनबाट सभापति चुनिन थप कठिन हुनेछ ।

सभापति देउवा पक्षबाट सहमहामन्त्री प्रकाशशरण महत, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण, प्रवक्ता विश्वप्रकाश शर्मा, कानुन मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्यहरू एनपी साउद र रमेश लेखक महामन्त्री पदका आकांक्षी हुन् ।

यीमध्ये कुनै एक नेता देउवाइतर हुँदा सभापति जित्न देउवालाई अप्ठेरो पर्छ । यीमध्ये अहिलेसम्म प्रवक्ता शर्माले महामन्त्री लड्ने औपचारिक घोषणा गरेका छन् । महामन्त्रीमा उठ्ने औपचारिक घोषणा गर्नुअगाडि शर्माले बालुवाटार पुगेर यसबारे सभापति देउवालाई जानकारी गराएका थिए । देउवा पक्षलाई एकजुट नै राखेर सकेसम्म सोही समूहबाट महामन्त्री लड्ने प्रयासमा शर्मा छन् ।

सहमहामन्त्री महत पनि सकेसम्म महामन्त्रीमा लड्ने पक्षमा छन् । तर देउवा र टिमसँग छलफलपछि मात्रै उनले औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । कांग्रेसको विधानमा महामन्त्रीमा दुई जना निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement