कांग्रेसमा चुलियो अन्तरसंघर्ष, देउवाको राजनीतिक भविष्य धरापमा !


काठमाडौं – पुरानो प्रजातान्त्रिक पार्टी भनिएपनि नेपाली कांग्रेस भित्रको अभ्यासमाथि कांग्रेसकै वरिष्ठ नेताहरूले प्रश्न उठाउने गर्छन् । शेरबहादुर देउवा कांग्रेसको सभापति चुनिएदेखि नै उनका व्यवहार र विधि पद्दतिमाथि प्रश्न उठ्दै आएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसको लज्जास्पद हारपछि सभापति देउवा झनै घेराबन्दीमा गरे । त्यतिबेलादेखि देउवाविरुद्ध शुरू भएको खुला मोर्चाबन्दी झनै चर्किंदै गइरहेको छ ।

पार्टीको कुनै औपचारिक निर्णय विना नै बुधबार र बिहीबार देशभरका अधिकांश जिल्ला सभापतिले सामूहिक भेला गरे । भेलाको उद्देश्य थियो – सभापति देउवाका क्रियाकलापविरुद्ध उत्रने रणनीति बनाउनु र विशेष महाधिवेशन आह्वान गर्ने वातावरण निर्माण गर्नु ।

देउवाले दिए दनक !
आफूविरुद्ध भइरहेका क्रियाकलापको छनक सभापति देउवाले नपाउने कुरै भएन । जिल्ला सभापतिहरूको भेला र त्यसको तयारीबारे छनक पाएका सभापति देउवाले विराटनगर पुगेको मौकामा उतैबाट दनक दिँदै भने, ‘जति जना जिल्ला सभापतिको बैठक बसेको भएपनि मैले उहाँहरूको निर्णय फेस गर्छु ।’ देशभरका बहुमत जिल्ला सभापतिको भेला बसिरहेको सन्दर्भमा विराटनगरमा देउवामाथि प्रश्न गरिएको थियो ।
सभापति देउवाले पार्टीले विशेष महाधिवेशन आह्वान नगर्ने तर सभापतिहरूले बोलाए फेस गर्न तयार रहेको बताए ।

‘विशेष महाधिवेशन फेस गर्न तयार छु । पार्टीले बोलाउँदैन, उनीहरूले बोलाउँछन् भने बोलाउन् तर म फेस गर्न तयार छु,’ देउवाले भने । पार्टीलाई एकजुट बनाएर अगाडि बढ्ने क्रममा रहेकाले केही जिल्ला सभापतिको चलखेलले कुनै फरक नपर्ने देउवाले बताए । देउवा आफूविरुद्ध लाग्नेप्रति आक्रामक नै हुने गरेका छन् ।

जिल्ला सभापतिहरूको सशक्त तयारी
महाधिवेशन प्रतिनिधि हुन वडा अधिवेशनबाटै निर्वाचित भएर आउनुपर्ने महासमिति बैठकको निर्णयलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिबाट उल्ट्याएपछि जिल्ला सभापतिहरू आक्रोशित छन् ।महाधिवेशन प्रतिनिधि र सबै केन्द्रीय पदाधिकारी समेत वडा अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने अडानमा अधिकांश जिल्ला सभापति छन् ।

बिहीबार काठमाडौंमा सम्पन्न भएको जिल्ला सभापतिको भेलाले महासमिति बैठकलाई निर्णयलाई निरन्तरता दिन दबाब दिने निर्णय गरेका छन् । भेलाले नेतृत्वसँग सात बुँदे माग राखेको छ । पुसमा भएको महासमिति बैठकले अनुमोदन गरेका केही प्रावधान कांग्रेस केन्द्रीय समिति बैठकले उल्ट्याएको भन्दै असन्तुष्ट जिल्ला सभापतिले नेतृत्वलाई दबाब दिने उद्देश्यले काठमाडौंमा भेला गरेका थिए ।

भेलामा सहभागी कांग्रेस काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले भने, ‘केन्द्रीय सदस्य पनि वडा स्तरबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने मुख्य विषय छ । यसबाहेक हामीले पार्टीको देशभित्र र बाहिरका शुभेच्छुक संस्था, विदेशस्थित संस्थामा तुरुन्त नेतृत्व चयन गर्नुपर्ने, तहगत संरचनामा नेतृत्व चयनका लागि अधिवेशन गर्नुपर्ने लगायतका माग राखेका छौं ।’ विशेष महाधिवेशन आह्वान गर्ने सन्दर्भमा ५६ जिल्लाका सभापतिले फागुन २१ गते नै विज्ञप्ति जारी गरेर स्पष्ट पारिसकेका थिए ।

आक्रामक कोइराला क्याम्प !
सभापति देउवाको कार्यशैलीविरुद्ध कोइराला परिवारका सदस्यले समेत आक्रामक प्रस्तुती देखाइरहेका छन् । केही हप्ताअघि महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला र सुजाता कोइरालाले सामूहिक तस्विर सार्वजनिक गर्दै कोइराला एक भएको सन्देश दिन खोजेका थिए । त्यसयता शेखर कोइरालाले देउवाको कार्यशैलीविरुद्ध खुलेरै आलोचना गरिरहेका छन् ।

आगामी महाधिवेशनमा कोइराला परिवारबाट नै सभापतिको उम्मेदवार बन्न सक्ने सम्भावना देउवाका लागि ठूलो चुनौतीका रुपमा खडा हुने अनुमान गर्न थालिएको छ । कांग्रेसभित्र कोइराला परिवारको विरासत शक्तिशाली छ, जसले देउवाको राजनीतिक भविष्य धरापमा पार्न सक्छ ।

कोइराला परिवारबाट महामन्त्री शशांक कोइराला वा शेखर कोइराला सभापतिको उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको छ । औपचारिक घोषणा नभएपनि कोइराला परिवारले आन्तरिक तयारी गरिरहेका छन् । शेखर कोइराला पछिल्ला केही महिनादेखि सक्रिय रुपमा देश दौडाहामा छन् । सँगसँगै कांग्रेसभित्र अन्तर्संघर्ष पनि चर्किंदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement