काठमाडौं – कांग्रेसले प्रदेश, क्षेत्रीय र स्थानीय तहको संरचना निर्माण गर्ने तयारी थालेको छ। सभापति शेरबहादुर देउवा संरचना बनाउन अग्रसर भएपछि सभापतिइतर समूह पनि संरचनामा आफ्नो पकड बनाउने रणनीति तय गर्न जुटेको छ। केही समययता देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य शीर्ष नेतासँग संगठन निर्माणबारे अनौपचारिक छलफल बाक्लो पारेका छन्।
सभापति देउवाको सक्रियतासँगै इतर समूहका नेताले पनि तयारी थालेका हुन्। यस सम्बन्धमा मंगलबार साँझ नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीको काठमाडौं सामाखुसीस्थित निवासमा इतर समूहका नेताले झन्डै ४ घण्टा अनौपचारिक बैठक गरे। बैठकमा वरिष्ठ नेता पौडेलसहित नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महामन्त्री शशांक कोइराला, नेतृ सुजाता कोइरालालगायत सहभागी थिए।
केही दिनअघि सभापति देउवाले वरिष्ठ नेता पौडेललाई सातै प्रदेशमा समिति गठनको प्रस्ताव राखेका थिए। तीमध्ये ४ वटाको मनोनयन देउवाले गर्ने र बाँकी ३ वटाको पौडेललाई दिने प्रस्ताव गरेका थिए।
त्यसपछि कांग्रेस नेताले त्यसपछि संगठन निर्माणबारे आन्तरिक छलफल तीव्र पारेका छन्। यसबीच सभापति देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्कासहित रमेश लेखकलगायत नेताले इतर समूहका नेतासँग अनौपचारिक संवादसमेत गरेका छन्। कांग्रेसले आउँदो २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ। यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया