हेलिकोप्टर दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुख व्यक्त


काठमाडौं– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ती जारी गरेर दुर्घटनामा ७ जनाले जीवन गुमाएको उक्त दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

‘‘विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदीयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’’

यसैगरी, कांग्रेसले दुर्घटनामा यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको उल्लेख गरेको छ। दुर्घटनामा नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् । ‘

प्रतिक्रिया दिनुहोस
Advertisement