काठमाण्डु – नेपाली काँग्रेस र नेकपा एमाले दुवैले प्रदेश सरकारमा सहकार्य गर्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रस्ताव गरेका छन् ।
काँग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेशमा सत्ता सहकार्यको प्रस्ताव राखेका हुन् ।
हाल ७ मध्ये मधेशबाहेक ६ प्रदेशमा काँग्रेस–एमाले गठबन्धन सरकार छ । २०८१ असार १७ गते २ दलबिच भएको ७ बुँदे सहमतिपछि संघीय र प्रदेश सरकारमा काँग्रेस–एमालेबिच सहकार्य भएको थियो । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट एमाले अध्यक्ष ओली नेतृत्वको सरकार विस्थापित भयो । तर ७ बुँदेले परिकल्पना गरेअनुसारको प्रदेश सरकार अस्तित्वमै छ ।
काँग्रेस र एमाले अब सत्ता सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्षमा पुगेका छन् । ७ बुँदे सहमति गर्दाका काँग्रेस सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत गगन थापाले विस्थापन गरेका छन्, ओली भने नेतृत्वमै छन् ।
स्रोतका अनुसार काँग्रेस र एमाले दुवैको प्रस्तावबारे प्रचण्डले पार्टी नेताहरूलाई जानकारी गराएका छन् । यद्यपि उनले थापा र ओलीलाई कुनै दल बाहिरिने र आफू ‘इन’ हुने नभई सबै समेटिने गरी सर्वदलीय सरकारको स्वरूप दिँदा उपयुक्त हुने जवाफ दिएका छन् । ‘दुवै दलबाट हामीलाई सत्ता सहकार्यको प्रस्ताव आएको छ,’ नेकपाका एक नेताले भने, ‘हामी ३ वटै दल र मधेशमा मधेश केन्द्रित दल समेतको सहभागितामा सरकार बनाउँदा राम्रो हुन्छ भन्नेमा छौं ।’
अर्का एक नेताले भने काँग्रेससँग भन्दा एमालेसँगको सहकार्य स्वाभाविक हुने मतमा पनि छलफल जारी छ । प्रदेश सरकारहरूबाट सहकार्य थाल्ने र पछि पार्टी एकीकरणसम्म पुग्ने गरी अघि बढ्नुपर्ने मत नेकपामा बलशाली बन्दै गएको उनले बताए ।
‘वाम लोकतान्त्रिक शक्तिका बिचमा सहकार्य जरुरी छ,’ उनले भने, ‘त्यसमा पनि समान विचार बोक्ने वामपन्थी दलहरू नमिली सुखै छैन ।’




प्रतिक्रिया