काठमाण्डु – नेपाली कांग्रेसले ७७ वटै जिल्लालाई राजनीतिक वस्तुस्थितिबारे प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।
कांग्रेसले बिहीबार सबै जिल्ला कार्यसमतिलाई परिपत्र गर्दै आसन्न स्थानीय तह निर्वाचनका लागि चैत २२ गतेभित्र राजनीतिक वस्तुस्थितिबारे प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।
‘केन्द्रले तोकेर पठाएका विषयमा अध्ययन र विश्लेषण गरी चैत २२ गतेभित्र सुझावसहित ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा प्राप्त हुने गरी अनिवार्य रुपमा प्रतिवेदन पठाउन मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
जिल्ला कार्यसमितिलाई पठाइएको परिपत्रमा कांग्रेसका जिल्ला सभापति संयोजक रहने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको जिल्लास्तरीय संयन्त्र गठन गर्न निर्देशन दिइएको छ ।
त्यस्तै कांग्रेसले गत स्थानीय तह निर्वाचनमा नेकपा एमाले र अन्य प्रतिस्पर्धी पार्टीले प्राप्त गरेको मतको अवस्था, गठबन्धनमा रहेका दलहरूको अलग–अलग सबै स्थानीय तहमा रहेको वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत पनि विश्लेषण गर्न सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।




प्रतिक्रिया