‘कन्जुस’ सुमार्गी : कर तिर्न कन्जुस्याइँदेखि विवादित कारोबारसम्म


काठमाडौं – व्यवसायी अजेयराज सुमार्गीको सम्पत्तिबारे कानूनी र सार्वजनिक चासोमा विवाद र चर्चा हुने गरेको छ । उनले छोटो समयमै धेरै सम्पत्ति जोडेको विषय चर्चामा आउँछ ।  राजनीतिक पहुँचको दुरुपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको आरोप लाग्ने गरेका अजेयराज सुमार्गी सरकारले रोयल्टी, कर, शुल्क तिर्न भने कन्जुस छन् । उनले विगत लामो समयदेखि रोयल्टी तिर्न कन्जुस्याइँ गरिरहेका छन् ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने भनेर नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) मा हात हालेका सुमार्गी हाल कम्पनीले सरकारलाई तिर्नुपर्ने दस्तुर तिर्न कन्जुस्याइँ गरिरहेका छन् । पटक–पटक ताकेता गर्दा समेत दस्तुर नतिरेपछि दूरसञ्चार प्राधिकरणले हेलो नेपाललाई चेतावनीयुक्त पत्राचार गरेको छ ।कम्पनीले तिर्नुपर्ने फ्रिक्वेन्सी दस्तुर ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ रहेको छ । जसमध्ये सात करोड रुपैयाँ १५ दिनभित्र र बाँकी बक्यौता तीन महिनाभित्र तिर्न प्राधिकरणले निर्देशन दिएको छ । सुमार्गीको कम्पनी हेलो नेपालले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मको दस्तुर बुझाएको छैन ।

प्राधिकरणको निर्देशन बमोजिम बक्यौता नबुझाएमा हेलो नेपालको लाइसेन्स स्वतः खारेज हुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ‘साउन १७ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम तिर्न १५ दिनको अल्टिमेटम दिएको छ,’ उनले भने । पटक–पटक ताकेता र निर्देशन दिँदा समेत सुमार्गीको हेलो नेपालले सुनवाइ गर्ने गरेको छैन ।

हेलो नेपालले यसअघि भिस्याट बापतको २७ लाख रुपैयाँ लामो समयसम्म नतिरेपनि लाइसेन्स रद्द गर्ने चेतावनीपछि जेठमा भिस्याटको शुल्क बुझाएको थियो । एउटा शुल्क तिरेपनि सुमार्गीले अर्काे शुल्क तिर्न कन्जुस्याइँ गरिरहेका छन् ।सुमार्गीका विवादित विषय सम्बन्धित निकायमा मात्रै नभई संसदीय समितिदेखि सर्वाेच्च अदालतसम्म पुग्ने गरेका छन् । गत वर्ष पुसमा संसदको अर्थ समितिले कम्पनीको बक्यौता रकम एक महिनाभित्र असुल्न प्राधिकरणलाई निर्देशन दिएको थियो । निर्देशन दिएको आधा वर्ष पूरा भइसक्दासम्म पनि हेलो नेपालले दस्तुर बुझाएको छैन ।

हालसालै सर्वाेच्च अदालतले अजेय सुमार्गीसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अनुसन्धानको फाइल झिकाउने आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको संयुक्त इजलासले बिहीवार सम्पत्ति शुद्धीकरणको विषयमा उनीमाथि गरिएको छानबिनको फाइल विभागबाट झिकाएको हो । सुमार्गीले हेलो नेपालमा लगानी गर्ने उद्देश्य देखाएर विदेशबाट ल्याएको करीब ४ अर्ब रुपैयाँको वैधानिकतामा विवाद देखिएको छ । नेपाल राष्ट्र बैंैंकले रोक्का गरी राखेको खाताको रकमबारे विभागको अनुसन्धानको फाइलमाथि सर्वाेच्च अदालतमै जाँचबुझ हुनेछ ।

सुमार्गीको विवादित रकमबारे सर्वाेच्च अदालतमा दुई वर्षदेखि मुद्दा विचाराधीन रहेको छ । सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैंकले सुमार्गीको रकम रोक्का राखेको थियो । आफ्नो खाताको रकम रोक्का भएपछि २०७४ माघ २१ मा सुमार्गी सर्वाेच्च अदालतमा पुगेका थिए । अदालतमा मुद्दाको सुनुवाइ चलिरहेको छ । वैदेशिक लगानी ल्याउँदा राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले गैरकानूनी रुपमा रोक्का राखेको भन्दै सुमार्गीले हेलो नेपालका तर्फबाट अदालतमा मुद्दा दायर गरेका थिए । लगानीका लागि भन्दै सुमार्गीले विदेशबाट ल्याउन लागेको करीब ४ अर्ब रुपैयाँ शंकास्पद देखिएको आधारमा नेपाल राष्ट्र बैंैंकले सुमार्गीको रकम रोक्का राखेको थियो ।

सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंैंकको खातामा आएको २ करोड १३ लाख अमेरिकी डलरमाथि राष्ट्र बैंकले शंका गरेपछि रोकिएको थियो । उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो भने सोही पत्रका आधारमा सुमार्गीले ल्याउन खोजेको रकम रोक्का राखिएको छ । सुमार्गीको आर्थिक गतिविधिमाथि राज्यकै निकायले शंका गरिरहेको बेला उनी भने सरकारलाई तिर्नुपर्ने दस्तुर पटक-पटक ताकेता गर्दा पनि बुझाउँदैनन् । राजनीतिक पहुँचलाई दुरुपयोग गर्दै सुमार्गीले राज्यका निकायलाई नटेर्ने गरेको आरोप लगाउनेहरू पनि छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement