संविधान संसोधन गर्ने प्रतिवद्धता आए राजपा पनि सरकारमा सहभागी हुने


काठमाडौँ – प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल पनि सहभागी हुने भएको छ । राजपाले सरकारमा सहभागि हुन निरन्तर छलफल तथा वार्ता गर्दै आएको छ ।

सत्तारुढ दल माओवादी केन्द्र र एमालेका शिर्ष नेताहरुसंग राजपाका नेताहरुले संविधान संसोधनमा ठोस प्रतिवद्धता जाहेर गरे सरकारमा जाने सक्ने संकेत देखाएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले राजपाका माग पुरा गर्न सरकारले तयार रहेको बताउंदै आएका छन् । सरकारले लिखित प्रतिवद्धता गरेकै दिन राजपा सरकारमा सहभागी हुने तयारीमा छ ।

‘संविधान संशोधनमा कुरा मिलेपछि सरकारमा जान तयार छौँ। सबै कुरा एकैपटक नभए क्रमैसँग हाम्रा मुद्धा सम्वोधन गरे पनि हुन्छ’ राजपा अध्यक्षमण्डलका नेता राजकिशोर यादव भने । ‘हामी निरन्तर छलफल तथा वार्तामा बसिरहेको छौँ, सविधान संसोधनको प्रतिवद्धता आए हामी सरकारमा सहभागि हुन तयार छौँ ’उनले भने

एमाले र माओवादी केन्द्र एकता प्रक्रियामा गईरहेको बेलामा बनेको सरकारमा संघिय समाजबादी फोरमले सरकारमा जाने निर्णय गरिसकेको छ । फोरमका नेता अशोक राईका अनुसार फोरम २ मन्त्रालय र एक राज्यमन्त्रीका साथ सरकारमा सहभागि हुन लागेको हो । ‘हाम्रो माग भनेको ४ वटा मन्त्रालय थियो तर उहाँहरुले २ मन्त्रालय र एक राज्यमन्त्री दिन्छौ भन्नु भएको छ, अव हामी छिट्टै सरकारमा सहभागी हुन्छौं ।’ राईले काठमाडौैपाटीसंग भने ।

राजपाले सरकारमा सहभागि हुनका लागि उपराष्ट्रपति सहित चार वटा मन्त्रालय समेत मागेकोे छ । माओवादी केन्द्रले उपराष्ट्रपतिमा हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई निरन्तरता दिने सहमति गरीसकेको बेलामा राजपाले उपराष्ट्रपति पाउने सम्भावना भने कम रहको छ ।

आइतबार भएको संघीय संसदहरुका सदस्यको सपथग्रहण समारोहमा राजपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री ओलीले सरकारमा आउन आग्रह गरेका थिए। शुक्रबार बिहान प्रधानमन्त्री ओली र ठाकुरबीच भएको टेलिफोन कुराकानीमा ओलीले राष्ट्रपतिमा विद्या भण्डारीलाइ भोट दिएर बिनासर्त सरकारमा आउन आग्रह गरेका थिए । तर, राजपाले भने सरकारमा सहभागी भए उपराष्ट्रपति चाहिने माग प्रधानमन्त्रीसंग अघि सारेको छ ।

राजपाले सरकारमा सहभागी हुने चासो देखाएपछि माओवादी केन्द्रका नेताहरुले भने सरकार विस्तार छिटो गर्न प्रधानमन्त्री ओलीलाई दबाव दिइरहेको स्रोतको दाबी छ । राजपा सरकारमा सहभागी भए नेताहरुको व्यवस्थापन गर्न कठिनाई हुने भन्दै छिटो सरकार विस्तार गर्न माओवादी र एमालेका नेताहरुले प्रधानमन्त्रीलाई दबाव दिएको स्रोतको दाबी छ ।

‘सरकार विस्तार नहुंदा राजपाको बार्गेनिङ पावर बढ्छ, मन्त्रिपरिषद्को विस्तार भएपछि उहाँहरुलाई सरकारमा आउन अफ्ठेरो हुन्छ ।’ एमालेका एक नेताले काठमाडौंपाटीसंग भने ।

उसो त राजपाभित्र पनि सरकारमा सहभागी हुने विषयमा फरक–फरक लाइन छ । राजपाका केही नेताहरुले प्रधानमन्त्रीले आफुहरुका माग पुरा गर्ने सहमतिपत्रमा हस्ताक्षर गरे मात्र सरकारमा सहभागी हुने अडान लिंदै आएका छन् भने केहीले भने विना सर्त सरकारमा जानुपर्ने धारणा राख्दै आएका छन् । प्रधानमन्त्री ओलीले राजपालाइ बिनासर्त सरकारमा आउन प्रस्ताव यसअघि नै गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement