काठमाण्डु- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चारवटा समस्याग्रस्त सहकारी संस्थाका २२३ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिवशिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्तालाई पहिलो चरणमा उनीहरूको रकम फिर्ता गरिएको हो।
समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाटै सम्बन्धित सहकारीका पीडित बचतकर्तालाई बचत फिर्ता गरिएको समितिले जनाएको छ। सरकारले पनि ऋण असुलीबाट प्राप्त रकमलाई बचतकर्ताको रकम फिर्ताका लागि प्रयोग गरिरहेको स्पष्ट पारेको छ।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरेको जनाएको छ। अब बचतको रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिने समितिले जनाएको छ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली गर्ने तथा सम्पत्ति व्यवस्थापनबाट स्रोत जुटाउने कामसँगै बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।
प्रचलित कानुनी व्यवस्थाअनुसार ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइने समितिले जनाएको छ।




प्रतिक्रिया