लुम्बिनी र गण्डकीमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु


काठमाण्डु – गण्डकी र लुम्बिनी प्रदेशमा थप ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।  रुपन्देही, बुटवल, म्याग्दी र नवलपरासीका ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको मृत्यु भएको छ ।

मङ्गलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । मधुमेहबाट पीडित रहेकी ती महिलाको उपचारका क्रममा आज बिहान ५ः१५ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

यस्तै कोरोना सङ्क्रमण भएर सात दिनदेखि होम आइसुलेशनमा बसेका तिलोत्तमाका नगरपालिका–२ मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ ।

लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखीएपछि उपचारका लागि क्रिमसन अस्पताल पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) गैंडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड आईसियुमा र म्याग्दीको धौलागिरीका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement