कोरोनाविरुद्ध १५ लाख बुस्टर डोज आयो


काठमाण्डु – सरकारले कोरोनाविरुद्ध १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ ।

गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्ध अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो । ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य शुरु भएको पनि उनले बताए। पहिलो मात्रा खोप नलगाएको व्यक्तिलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको उनले बताए।

सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्दै खोपहरू उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम शुरु भइसकेको बताए। उनले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोप केन्द्र गए सहजै खोप लगाउन सक्ने उनले बताए।

उनले खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरूलाई खोप लगाइदिन आग्रहसमेत गरे। आजबाट काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन शुरु गरिएको छ ।

सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाविरुद्ध खोप पहिला भएको संक्रमण र अहिले फैलिरहेको संक्रमण दुवैको हिसाबले प्रयोग गर्न मिल्ने पनि बताए। उनले यो खोप विगतमा जुनसुकै खोप लगाएको भए पनि बुस्टरमात्राका रूपमा लगाउन मिल्ने बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement