नाम मात्रका कोभिड अस्पताल,उपचार नपाएर ज्यान गुमाउँदै काेराेना संक्रमित


धरान – कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन्।

सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति बिस्तार गर्न नसक्दा समस्या भएको हो। सात महिनाअघि तयार पारिएका कोभिड अस्पतालका संरचना संक्रमित सबा लाख पुग्न लाग्दा पनि उस्तै छन्।

तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि धरान ९ गौतम पथका ५८ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका थिए। आइसोलेसनमा बसेका ती संक्रमितलाई बुधबार दिउँसो सास फेर्न गाह्रो भयो। परिवारका सदस्यले वडाअध्यक्ष रत्न कटवाललाई सम्पर्क गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा अक्सिजनसहितको बेड मिलाइदिन आग्रह गरे।

कटवालले अक्सिजनसहितको बेडका लागि निकै पहल गरे तर पाइएन। प्रतिष्ठानबाट अक्सिजनसहितको बेड नभएको जानकारी पाएपछि विजयपुर अस्पतालबाट अक्सिजन सिलिन्डर घरमा ल्याएर दिइएका ती संक्रमितलाई राति सास फेर्न कठिन भएपछि प्रतिष्ठानमा लगियो। प्रतिष्ठानमा पु-याएको केही समयमै ती संक्रमितको मृत्यु भयो।

धरान १६ का करिब ६० वर्षीय संक्रमितलाई पनि बुधबार साँझ सास फेर्न गाह्रो भयो। प्रतिष्ठानको कोभिड अस्पतालमा लैजान परिवारजनले निकै कोसिस गरे। तर अस्पतालले बेड खाली नभएको जानकारी गरायो। ती संक्रमितको राति नै घरमा मृत्यु भयो।

त्यस्तै धरान १५ का ६८ वर्षीय पुरुष ४ दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसे। ती संक्रमितलाई पनि बुधबार दिउँसो सास फेर्न गाह्रो भयो। दिउँसो करिब ४ बजेतिर प्रतिष्ठानमा लगियो। त्यहाँ भेन्टिलेटरको त कुरै छाडौं, सामान्य बेडसमेत नपाएपछि ती संक्रमितलाई विराटनगर लगियो। ती संक्रमितको बुधबार राति नै कोसी कोडिभ उपचार केन्द्रमा मृत्यु भएको धरान १५ का वडाध्यक्ष नरेश इवारमले बताए।

‘संक्रमितलाई परिवारले दिउँसो ४ बजे बिपी प्रतिष्ठानमा लगे, त्यहाँ बेड नपाएपछि विराटनगर पु-याए, विराटनगरमै राति मृत्यु भयो,’ वडाअध्यक्ष इवारमले भने, ‘धरानमा बिपी हस्पिटल छ भनेर हामी गर्व गथ्र्यौं, तर आपतका बेला सेवा पाइएन। यहाँको कोभिड अस्पताल नाम मात्रको जस्तो भयो, आवश्यक उपकरण, साधनस्रोत र जनशक्ति केही छैन।’

धरान ९ का वडाध्यक्ष कटवालले पनि संक्रमितको उपचारका लागि सामान्य बेडसमेत प्रतिष्ठानमा उपलब्ध हुन नसक्नु दुःखद भएको बताए। करोडौं खर्च गरेर लेभल थ्री अस्पताल बनाए पनि अक्सिजनसहितका बेड पर्याप्त व्यवस्था नगरेको भन्दै उनले आक्रोश पोखे। ‘मैले नै फोन गरेर अक्सिजनसहितको बेड चाहियो भने। भेन्टिलेटर भएको बेड मागेको पनि होइन, तर अक्सिजन बेड खाली छैन, बिरामी नल्याउनु, सिलिन्डर किनेर घरमै अक्सिजन दिनु भन्ने जवाफ प्रतिष्ठानबाट आयो,’ कटवालले भने।

आइसियू नपाउँदा ज्यान गयो

अर्घाखाँचीबाट उपचारका लागि बुटवल ल्याइएका कोरोना संक्रमितको पनि उपचार नपाएर मृत्यु भएको छ। अर्घाखाँची भूमिकास्थान ९ का ७३ वर्षीय पुरुषको बुटवलका अस्पतालमा आयसियू बेड खाली नभएपछि बिहीबार बिहान दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। ती पुरुषलाई मंगलबार संक्रमण पुष्टि भएका बुधबार बुटवल ल्याइएको थियो।

स्वास्थ्य अवस्था गम्भीर भएका ती संक्रमितलाई आइसियू बेड खाली नभएकाले आइसोलेसन वार्डमै राखिएको थियो। स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि ती संक्रमितलाई बुधबार राति दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालमा रेफर गरिएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. विष्णु गौतमले बताए। दाङ लैजाने क्रममा बिहीबार बिहान पौने ८ बजेतिर ती संक्रमितको बाटोमै मृत्यु भएको जानकारी आएको गौतमले बताए।

बुटवलस्थित कोरोना अस्पतालमा उपचारत बुटवलकै एक महिलाको पनि बिहीबार बिहान मृत्यु भएको छ। बुटवल ७ कि ७० वर्षीया संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बिहीबार बिहान सबा ९ बजेतिर मृत्यु भएको डा. गौतमले बताए। गत २१ गते संक्रमण पुष्टि भएकी ती महिलामा उच्च ज्वरो र निमोनिया देखिएको जानकारी उनले दिए।यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement