साउदीमा कोरोना संक्रमित नेपालीको संख्या १३ सय ६४ पुग्यो, ७ जनाको मृत्यु


काठमाडौं – साउदी अरबमा १३ सय ६४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ७ जनाले ज्यान गुमाएको नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको लिखित जानकारी अनुसार मार्च २ देखि बिहीबारसम्ममा १३ सय ६४ जना नेपाली संक्रमित भएका छन् । संक्रमितनहरु मध्ये आधा भन्दा बढी निको भई फर्केका र मृत्युदर पनि न्यून रहेको पाइएको छ ।

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी राजदूतावाले हेर्ने क्षेत्रमा १०१६ जना र जेद्दा क्षेत्र (जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३४८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ जना महिला रहेका छन् ।

संक्रमित मध्ये ७ जना (यस मध्ये ३ जना महावाणिज्यदूतावास जेद्दाको सूचनामा उल्लेख) नेपालीको निधन भएको छ । साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीहरुको संख्या उत्साहजनक रहेको छ ।

कोरोनाको संक्रमण भएकाहरुसँग टेलिफोन सम्पर्कमा आउने सबैजनाले उनीहरुलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गरिदिन दूतावासले अनुरोध गरेको छ ।

जेद्दा क्षेत्रमा ३ जना र रियादमा रहेको नेपाली दूतावासले हेर्ने क्षेत्रमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको दूतावासले जनाएको छ ।

साउदीको राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना र अन्य क्षेत्रमा ३ गरी रियादमा रहेको राजदूतावाले हेर्ने क्षेत्रमा १ हजार १६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।

यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना नेपाली सङ्क्रमित छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् ।

साउदीले सङ्क्रमितमध्ये निको हुनेको सङ्ख्या नखुलाए पनि धेरै नेपाली निको भएको साउदीले दूतावासलाई जानकारी दिएको छ ।

यस्तै मे २३ देखि २७, सम्मका लागि साउदीले कार्फ्यु जारी गरेकाले यसको पालना गर्न दूतावासले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement