कोरोनाबाट काठमाडौंमा ५ को मृत्यु


काठमाडौं – संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, काठमाडौं— १० शंखमूलका ६० वर्षीय पुरुषको असार २६ गते निधन भएको हो । फोक्सोमा पानी जमेको र मिर्गौला रोगको कारणले अस्पताल भर्ना भएको १० दिनपछि उनको ज्यान गएको हो । उनीे असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनको असार १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का ५४ वर्षीय पुरुषको असार २५ गते उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो । उनको असार २१ गते स्वाबको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको पनि कोरोना भाइरसका कारण गत असार १७ गते ज्यान गएको थियो । उनी उच्च रक्तचाप र पार्किन्सनका बिरामी थिए । छातीको समस्यापछि अस्पताल पुगेका उनको उपचारका क्रममा ज्यान गएको हो ।

उनको पनि मृत्युपछि १९ असारमा कोरोनाको पुष्टि भएको थियो । यसअघि ललितपुरमा २ जनाको कोरोना भाइरसबाट मृत्यु भएको थियो । ललितपुर, बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते निधन भएको थियो । उनी १२ जेठमा किस्ट अस्पताल भर्ना भएका थिए । मृत्युपछि १५ जेठमा संक्रमण पुष्टि भएको थियो ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement