कोरोना प्रभाव:अन्तर्राष्ट्रिय आवागमनमा कडाइ, जरुरी कामबाहेक विदेश नजान आग्रह

कोरोना प्रभाव:अन्तर्राष्ट्रिय आवागमनमा कडाइ, जरुरी कामबाहेक विदेश नजान आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढेसँगै नेपालले पनि अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेको छ । सरकारले सोमबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै अत्यन्तै जरुरी कामबाहेक विदेश यात्रा नगर्न भनेको छ । कोरोना प्रभावित ५ देशका नागरिकलाई ‘अनअराइभल भिसा’ सुविधामा अस्थायी प्रतिबन्ध लगाएको छ ।

कोराना प्रभावित देशहरूमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन पनि रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका आफन्तलाई स्वागत तथा बिदाइमा कडाइ गरिनुका साथै स्थलमार्गबाट नेपाल भित्रिनेहरूलाई पनि अनिवार्य स्वास्थ्य परीक्षण गर्न भनिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मुलुकमा अन्तर्राष्ट्रिय सभा/सम्मेलन गर्न पनि केही समयका लागि स्थगित गरिएको जानकारी गराए । ‘निजी र सामाजिक क्षेत्रलाई पनि यस्ता खाले कार्यक्रम नगर्न आग्रह गरेका छौं,’ उनले भने । विदेशस्थित आफ्ना नियोगलाई त्यहाँ रहेका नेपालीसँग सम्पर्कमा रहन निर्देशन दिइसकेको उनले बताए । नेपालका ३० वटा दूतावास, तीनवटा संयुक्त राष्ट्रसंघको स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन् । स्थलमार्गबाट भारत भएर आउनेलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्न भनेको र नाकामा पनि उच्च सतर्कता अपनाइएको उनले बताए ।

‘चीनबाट नेपालीहरूलाई उद्धार गरेर ल्यायौं । आवश्यक परे अन्य स्थानबाट पनि ल्याउन सरकार तयार छ,’ उनले भने । विदेशबाट नेपालीलाई उद्धार गरी ल्याइए भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई निरन्तरता दिने र अन्य सरकारी तथा निजी अस्पतालमा पनि आइसोलेसन वार्डको व्यवस्था गर्न भनिएको मन्त्री ज्ञवालीले बताए ।

यस्तै, सरकारले चीन तथा उसको विशेष प्रशासनिक क्षेत्र हङकङ, दक्षिण कोरिया, जापान, इटाली र इरानका नागरिकलाई नेपालले दिँदै आएको अनअराइभल भिसामा आगामी मार्च १० देखि अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।