कोरोना त्रास : १२ जिल्लामा निषेधाज्ञा


काठमाण्डु –  कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि मंगलबार साँझसम्म १२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको बताए । उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।

‘मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी छ, केही जिल्लामा जिल्लाभर निषेधाज्ञा छ, केहीमा अवस्था हेरेर क्षेत्र छुट्याएरै निषेधाज्ञा लागू गरिएको छ,’ गृह प्रवक्ता बुढाले राजधानीसँग भने ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।

‘मंगलबारसम्म सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा कायम छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तह भित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ,’ गृह मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने ।

उनका अनुसार जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

संक्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् । यस्तै, भारततर्फका नाकासँग जोडिएका सीमा क्षेत्रमा समेत स्थानीय प्रशासनले कडा निगरानी राख्दै आइरहेका छन् ।यो समाचार आजको राजधानी दैनिकमा छ

प्रतिक्रिया दिनुहोस
Advertisement