कोरोना भाइरसले अमेरिकी र दक्षिण कोरियालीबीचको सैन्य अभ्यास स्थगित


एजेन्सी – चीनस्थित वुहान शहरबाट सुरु भएको कोरोना भाइरस हाल विश्वका विभिन्न मुलुकमा विस्तार भइसकेको छ । यसले जापानको ओलम्पिक खेललाई समेत आशंका गरिदै आएकोमा अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास समेत स्थगित भएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि सैन्य अभ्यास स्थगित गरेको उल्लेख गरेको छ । चीनपछि दक्षिण कोरिया कोरोना भाइरसका कारण नराम्ररी प्रभावित भएको छ । संक्रमण दुवै देशका सेनामा फैलिएको र थप क्षति हुन नदिन सैन्य अभ्यास स्थगित गरिएको कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाबाट कोरियामा रहेका एक अमेरिकी सेना संक्रमित भएको खबर बुधबार नै सार्वजनिक भएको थियो ।

देगुबाट करिब २० किलोमिटर पर रहेको सैन्य क्याम्पका ती सैनिकमा कोरोना संक्रमण भेटिएपछि दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकहरु थप सजग भएका छन् । दक्षिण कोरियाली सेनाका कैयौं जवान र अधिकारीहरुलाई पनि कोरोना संक्रमण भएको छ ।

सैन्य अभ्यासका लागि छानिएका सेनाहरुमा पनि कोरोना संक्रमण देखिएपछि अमेरिका र कोरिया संयुक्त सैन्य अभ्यासबाट पछि हटेका हुन् । यी दुई देशबीच संयुक्त सैन्य अभ्यास हुँदा कोरियाली प्रायद्वीपको अर्को मुलुक उत्तर कोरियाले आफ्नो आक्रोश पोख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement