प्रधासेनापति थापा र अमेरिकी सेनाका प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ? 


काठमाडौं –अमेरिका भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले युएस आम्र्स फोर्सका भाइस चेयरम्यान अफ जोइन्ट चिफ अफ स्टाफ जनरल पाउल जे सेल्भासंग भेटवार्ता गरेका छन् ।  प्रधानसेनापति थापाले सेल्भासहित अमेरिकी रक्षामन्त्रालयअन्र्तगत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसंग  समेत भेटवार्ता गरेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।  

भेटवार्ताको क्रममा प्रधानसेनापति थापा र दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरु बीच द्धिपक्षीय हित, आपसी सहयोग तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

प्रधानसेनापति थापा र जनरल पाउलबीच अमेरिकी सेना र नेपाली सेनाबीच आगामी दिनमा तालिम र उच्चस्तरिय भ्रमण आदान प्रदान र संयुक्त सैन्य अभ्यास गर्ने विषयमा समेत छलफल भएको बताइएको छ । उनले शान्ति स्थापनामा नेपाली सेनाले ठुलो योगदान पुर्याएको भन्दै राष्ट्रसंघको उच्चस्तरको नियुक्तीको लागी समेत सहयोग गर्न अमेरिकी सैनिक नेतृत्वसमक्ष प्रस्ताव राखेका थिए । 

यसअघि प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघीय मुख्यालय, न्युर्योकमा आयोजित विश्वका १०६ मुलुकका सेना प्रमुख तथा वरिष्ठ सैनिक अधिकारीहरुको सहभागिता रहेको चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी भएका थिए । 

बिहीबार भएको उक्त्त भेलामा प्रधानसेनापतिले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा निर्वाह गर्दै आएको अग्रणी भूमिकाबारे प्रसंग उठाउंदै नेपाल सरकारको नीति अनुरुप संयुक्त राष्ट्र संघ अन्तर्गतका मिशनहरुमा शान्ति सैनिकहरुको सहभागिता बढाउंदै लगिने धारणा राखेका थिए । 

त्यसका साथै प्रधानसेनापति थापा संयुक्त राष्ट्र संघको न्युर्योकस्थित मुख्यालयमा आयोजित वुमन पिस एण्ड सेक्युरिटी सेमिनारमा सहभागि भएका थिए। उक्त सेमिनारको उद्देश्य विश्वका सेना प्रमुखहरु सहितको संजाल विकास गर्नु रहेको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा भएको सो सेमिनारमा ४४ मुलुकका सेना प्रमुखहरुको सहभागिता रहेको थियो।

प्रधानसेनापति थापाको असार ३१ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement