सेना दिवसकै दिन प्रधानसेनापति क्षत्रीले दिए अर्थपूर्ण सन्देश


काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक कुटनीतिलाई थप मजबुद तथा सुदृढ गर्ने तयारीमा सेना लागेको बताएका छन् । नेपाली सेनाका सकलदर्जालाई शिवरात्रीको अवसरमा शुभकामना सन्देश दिदैं प्रधानसेनापति क्षत्रीले मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्धलाई अझ विस्तार गर्न सैनिक कुटनीतिलाई थप मजबुद तथा सुदृढ गर्न मित्रराष्ट्रका सैनिक संगठनहरुसँगको सहकार्यमा विशेष जोड दिइएको बताएका हुन ।

सन्देशमा नेपाली सेना कठिन भन्दा कठिन परिस्थितिमा पनि संविधान निर्दिष्ट कार्यहरुको परिधिभित्र रही राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर रहेको उल्लेख गरेका छन् ।

क्षत्रीले नेपाली सेनाले संविधान कार्यान्वयनको क्रममा सरकारबाट घोषित सबै तहका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगबाट सम्पन्न गर्न अन्य सुरक्षा निकायहरुसँगको सहकार्यमा प्राप्त जिम्मेवारी प्रशंसनीय ढंगबाट पुरा गरी एक विश्वसनीय फौजको छवि कायम राख्न सफल भएको दावी समेत गरेका छन् ।

सेना दिवसको अवसरमा क्षत्रीले सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाण्डौं–तराई\मधेश द्रुतमार्ग निर्माण परियोजना समयमा नै सम्पन्न गरेर उदाहरणीय बन्ने मौकालाई नेपाली सेनाले सु–अवसरको रुपमा लिएको बताएका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्‘ राष्ट्रिय गौरवको यो निर्माण परियोजना नेपाली सेनाले मागेको होइन, न त खोजेको नै हो, यो त नेपाली सेनाप्रति नेपाल सरकार र नेपाली जनताले दर्शाएको भरोसा र विश्वासको प्रतिफल हो । ’

सन्देशमा उनले आयोजना लक्षित समय सीमा भित्र तोकिएको मापदण्डमा कुनै सम्झौता नगरी निर्माण सम्पन्न गर्न संलग्न सबैलाई निर्देशन समेत दिएका छन् ।

प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको संरचनालाई समय सापेक्ष तुल्याउन परिमार्जित पुनर्ढांचा र पुनर्संन्तुलनका योजनाहरु सरकारबाट स्वीकृत भई हाल कार्यान्वयनको चरणमा रहको बताएका छन् । क्षत्रीले नेपाली सेनाको संरचनामा देखिएका कमी कमजोरीलाई सन्तुलित बनाउन र देशको संघीय संरचना अनुसार फौजको तैनाथी व्यवस्थित गर्न थप २ पृतना तथा २ बाहिनीहरु स्थापना भई तैनाथ भईसकेको समेत जानकारी दिएका छन् ।

उनले नेपाली सेनाको खरिद तथा आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाई चालु आर्थिक वर्षबाट सम्पूर्ण खुल्ला बोलपत्रहरु इ विडिङमार्फत गरिंदै आएको बताउंदै ठुलो मात्रामा विदेशबाट खरिद गर्नु पर्ने सामानहरु पारदर्शी गर्न जी टु जीमार्फत खरिद गरिने प्रक्रियालाई प्राथमिकता दिइएको दाबी गरेका छन् । त्यसका साथै सैनिक सामग्रीहरुको परनिर्भरतालाई हटाई स्वदेशमा नै उत्पादन गर्दै जाने लक्ष्य अनुरुप समय सापेक्ष पहिरन सामग्री शाखा र सुन्दरीजल आर्सनल कार्यालयलाई आधुनिकिकरण गर्दै लगिएको शुभकामना सन्देशमा दाबी गरिएको छ ।

सन्देशमा संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यमा नेपाली सेनाको संख्या क्रमशः बढाउँदै लैजाने लक्ष्य अनुरुप शान्ति स्थापना कार्यमा कुल दरवन्दीको १० प्रतिशतसम्म शान्ति सैनिक पठाउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको र यसै क्रममा साउथ सुडान र लिवियामा स्पेशल फोर्स कम्पनी समेत तैनाथ भईसकेको उल्लेख गरिएको छ ।

नेपाली सेनाको गैर राजनैतिक चरित्रमा असर पार्न सक्ने विविध प्रकृतिका दबाब र परिघटनाहरुले फौजको एक ढिक्कापन, सामाजिक न्यायको सिद्धान्त र विश्वासका आधारहरु टुट्ने सम्भावनाहरु प्रति पनि नेपाली सेना सधैं सजक रहनु पर्ने शुभकामना सन्देशमा उल्लेख गरिएको छ । उनले नेपाली सेनाको आधार स्तम्भको रुपमा रहेको अन्तरनिहित चेन अफ कमाण्डलाई पनि असर पार्ने कार्य गर्ने गराउने जो सुकै भएपनि कारवाहीको भागिदार हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement